ट्रम्पमाथि गोप्य जानकारी सार्वजनिक गरेको आरोप

241
views


एजेन्सी, २, जेष्ठ ।
– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि कथित रुपमा इस्लामिक स्टेट ग्रुपबारे रुससँग गोप्य जानकारी सार्वजनिक गरेको आरोप लागेको छ । अमेरिकी अखबार ‘द वासिङ्टन पोष्ट’ ले राष्ट्रपति ट्रम्पले पछिल्लो हप्ता ह्वाइट हाउसमा एक छलफलको क्रममा रुसका विदेश मन्त्री सर्गेई लावरोव र रुसी राजदूतसँग उक्त जानकारी सार्वजनिक गरेको दाबी गरेको छ । तत्कालीन र पूर्व अधिकारीको हवाला दिँदै पत्रिकाले अमेरिकालाई निकै गोप्य तरिकाले एक सहयोगीले दिएको जानकारी राष्ट्रपति ट्रम्पले कथित इस्लामिक स्टेट ग्रुपबारे जानकारी दिएको दाबी गरेको छ ।
राष्ट्रपतिको कुराकानीः
यद्यपी, अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले एक बयान जारी गर्दै राष्ट्रपतिको कुराकानीमा विशेष प्रकारको खतराबारे चर्चा भएको बताएका छन् । यद्यपी, यो बैठकमा सूत्र वा सैनिक कारवाहीका बारे कुनै चर्चा नभएको पनि उनले बताएका छन् । पत्रकारसँगको कुराकानीमा ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल एचआर म्याकमास्टरले उक्त रिपोर्टलाई गलत बताएका छन् । उनले भने, ‘अमेरिकाका राष्ट्रपति अमेरिकी जनताको सुरक्षालाई अत्यधिक गम्भीरतापूर्वक लिन्छन् । जुन रिपोर्ट आज राती सार्वजनिक भएको छ, त्यो पूर्ण रुपमा गलत हो । राष्ट्रपति ट्रम्प र रुसी विदेशमन्त्रीले दुबै देशका लागि जे खतरा छन्, त्यसबारे चर्चा गरे । कतै पनि गोप्य स्रोत र काम गर्ने तरिकाबारे कुनै चर्चा भएको छैन । राष्ट्रपतिले ती सैनिक अभियानबारे पनि कुनै जानकारी दिएका छैनन् जो गोप्य छन् ।’ राष्ट्रपति बन्नुभन्दा पहिले पनि रुससँगको सम्बन्धको विषयमा ट्रम्पमाथि प्रश्न उठिरहेको थियो । डोनल्ड ट्रम्पको चुनाव प्रचार अभियानमा रुसले पनि मद्दत गरेको आरोप लागेको थियो । अमेरिकी गुप्तचर एजेन्सीले रुसले साइबर हमला गरेर चुनावमा अमेरिकी मतदातालाई प्रभावित गरेको आरोप लगाएका थिए । यद्यपी, राष्ट्रपति बनेपछि ट्रम्वले यसलाई पूर्ण रुपमा खारेज गरेका थिए ।