प्रणय दिवसः गुलाबको फुलको माग बढ्यो

1176
views

भरतपुर, २ फागुन । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।

चितवनका एक युवा किसानले तीन महीनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गरेका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले १० लाखको फूल बिक्री गरेका हुन् । रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको उनले बताए ।

“दैनिक एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको छ, पन्तले भने, वैशाखमा लगाइएको बिरुवाले मङ्सिरबाट उत्पादन दिन थालेको हो ।” प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल चितवन शाखाका अध्यक्षसमेत रहेका उनले बताए ।

गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४÷१५ पर्छ । “गुलाब उत्पादन गर्न खर्चिलो छ, पन्तले भने”, एउटा बिरुवाको रु १०० पर्छ ।” हल्याण्डबाट ल्याएको माउबोटलाई उहाँले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गरेका हुन् । यो याममा गुलाब प्रायः भारतबाट आयात हुन्छ ।

नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ । पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गरेका छन् । उत्पादित फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ ।