चरम विवादमा राष्ट्रपति ट्रम्पको संकटकाल

663
views

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकालको घोषणा गरेका छन् । अमेरिकी संविधानअनुसार घरेलु संकट र आपत् बिपद्का बखतमा मात्र लगाइने भनी गरिएको संवैधानिक व्यवस्थाविपरीत ट्रम्पले लगाएको संकटकालको अमेरिका र विश्वभर टीकाटिप्पणी भइरहेको छ ।

यो संकटकाललाई अमेरिकामा राष्ट्रिय संकटकालको नाम दिइएको छ । यो संकटकाल मेक्सिकोसँग जोडिएको अमेरिकी सिमानामा पर्खाल निर्माणका लागि ट्रम्पले अमेरिकी उपल्लो तथा तल्लो सदनसँग बजेट माग गर्नका लागि आफैमा स्पष्ट रहेको छ ।

अमेरिकी संविधान र ऐनमा राष्ट्रिय संकटकालसम्बन्धी व्यवस्था निकै गम्भीर राष्ट्रिय संकट निम्तिएमा मात्र लगाउन सकिने व्यवस्था भएको जानकारहरुले बताउने गरेका छन् । राष्ट्रपति ट्रम्पले भने अमेरिकामा आप्रवासीका कारण संकट नै निम्तिएको बताउँदै आएका छन् । हाल देशको दक्षिणी सीमानामा पर्ने छिमेकी देश मेक्सिकोबाट आप्रवासीको लश्कर पटकैपटक अमेरिका प्रवेश गरिरहने भएकाले संकट आइपरेको बताउँदै आएका छन् । तर उनको यो भनाइलाई जानकार तथा विज्ञहरुले अस्वीकार गर्दै उनको तर्क खण्डन गर्ने गरिरहेका छन् ।

अमेरिकामा जनताका लागि दिइने सेवा सुविधाका कारण विदेश तथा छिमेकी देशहरुबाट गैरकानुनी आप्रवासन निकै ओइरिने गरेको छ । अमेरिकी महादेशमा रहेका अन्य देशहरुको तुलनामा संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो आप्रवासी समस्या रहने गरेको छ । मानिसहरु प्रवेशाज्ञा वा भिसाको म्याद सकिएपछि पनि त्यही लुकेर बसिरहेका पाइन्छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले सीमा पर्खाल निर्माणको कुरा आफ्नो चुनावी नारा बनाएका थिए । यो नारा जसरी भए पनि आफू प्रतिबद्ध भएको ट्रम्प देखाउन चाहन्छन् । अमेरिकी सदनहरुमा आफ्नो बहुमत नपुग्ने भएपछि अनेकन पर्यत्न गर्दा पनि उनी पर्खाल निर्माणको बजेट जुटाउन वा पास गर्न सफल हुन ससकेनन् । हरेक प्रयत्नका बाबजुद उनी असफल भएपछि उनी राष्ट्रिय संकटकालको सहारा लिन पुगेका देखिन्छन् ।

संकटकाल घोषणाले ट्रम्पलाई विशेष बल पुग्ने र उनले राजनीतिक प्रक्रिया छलेर भएपनि आफूले गरेको वाचा पूरा गरी छाड्ने दाउँमा उनी पुगेका देखिन्छन् । त्यो हो, सेना तथा अन्य राहत बजेट प्रयोग गरेर भए पनि मेक्सिकोको सीमानामा पर्खाल उठाइ छाड्ने । अमेरिकी इतिहासतिर फर्केर हेर्ने हो भने यो घरेलु मामलामा लगाएको पहिलो संकटकल हो । योभन्दा पहिले विदेश मामलामा मात्र संकटकाल लगाइएको छ ।

यसले राष्ट्रपति तथा प्रतिपक्षीका बीचमा ठूलै विवाद सिर्जना गरेको छ । तर पनि राष्ट्रपति ट्रम्पले विपक्षीको बहुमत वास्ता नै नगरी सीमा सुरक्षाको प्रश्न उठाएर यो कदम चाल्न पुगेका छन् । यसमा राष्ट्रपतिले आफ्नो संकटकालीन अधिकार प्रयोग गर्न खोजिएको देखिन्छ । लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको देखिन्छ । यसलाई सत्ता र शक्तिको दुरुपयोग गरिएको भनेर विपक्षीहरुले गम्भीर आरोप उनीमाथि लगाएका छन् ।

जुनसुकै मनसायले संकटकाल लगाइए पनि प्रतिपक्षीहरु अमेरिकी संसदमा पर्खाल खर्च विधयेक पारित गर्न तयार देखिएका छैनन् । बरु ट्रम्पको संकटकाल घोषणा विरुद्ध अदालतमा चुनौति दिने प्रतिपक्षी डेमोक्य्राटहरुले बताउदै आएका छन् ।

संकटकालीन अधिकार प्रयोग गरेर पनि राष्ट्रपति ट्रम्पले मेक्सिको सीमानामा पर्खाल खडा गर्नका लागि लाग्ने आठ अर्ब डलर जुटाउन भने हम्मेहम्मे पर्ने देखिएको छ । यो बजेट अत्यावश्यक सैन्य खर्च, लागुऔषध तस्करी नियन्त्रण तथा डोनेशनबाट जम्मा गरिने अनुमान गरिएको छ ।