पर्वतको विहादीमा प्याराग्लाइडिङको मज्जा

745
views

पर्वत । पर्वतको विहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाँउपालिका वडा नं.४ को लुरिङ डाँडामा प्याराग्लाइडिङको उडान परीक्षण सफल भएको हो ।

उरामको गेप्ताङ सामुदायिक होमस्टेले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो ।पोखराको सराङकोटमा प्याराग्लाइडिङ चलाउँदै आएका विवेक राना र गोले लामाको नेतृत्वमा विपिन परियार,रमेश नेपाली, विक्रम नेपाली र शत्या राईले बिहादी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडाएका हुन् ।

परीक्षण उडानपछि विपिन परीयारले लुरिङ र देउराली डाँडा प्याराग्लाइडिङ उडानका लागि र रानीपानीमा रहेको इमीचौर अवतरणका लागि उत्तम स्थान रहेको बताए । यस ठाउँमा धेरै सम्भावना रहेको बताउँदै भौगोलिक अवस्था,उचाई,हावाको गति लगायतको सहजताका कारण आफूलाई उडान सहज बनेको उनले बताए।

आवश्यक पूर्वाधार सडक,धावन मार्गको व्यवस्थित विकास गर्न सकेमा व्यवसायिक रुपमा यस स्थानमा प्याराग्लाइडिङ सुचारु गर्न सकिने चालक रमेश नेपालीले बताए। ‘परीक्षण उडान सफल भएको छ, यसले बिहादी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास बढेको छ’ उनले भने ।

प्यारागलाइडिङका माध्यमबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै बिहादीलाई समृद्धिको पथमा हिडाउने लक्ष्यका साथ परीक्षण उडान गरिएको बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले बताए । उनले यस स्थानको थप भौगोलिक अध्ययन र पूर्वाधार विकास गरी आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरी प्याराग्लाइडिङ नियमित सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सफल उडान अघि धावन मार्ग र अवतरण स्थलको बारेमा सम्भाव्यता अध्ययन गरिएको थियो । बिहादीको आकाशमा एकैसाथ ४ वटा प्याराग्लाइडिङ उडेपछि स्थानीयवासीमा खुसीयाली विश्व न्यौपानेले बताए । चालकले आधा घण्टाभन्दा बढी समयसम्म उडान गरेपछि उडान आँपालयमा अवतरण गराएका थिए ।

पत्रकार माधव पराजुलीले पर्यटकीय सम्भावना बोकेको बिहादी गाउँपालिकाको बास्तविक सम्भावना र वस्तुस्थितिको अध्ययन अनुसन्धान गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्र तथा स्थानीय जनताको लगानीमा प्याराग्लाइडिङजस्ता साहसिक खेल भित्र्याउन सके समग्र बिहादी गाउँपालिकको विकास हुने बताए।

स्थानीय ऋषिराम भुसालले आफ्नो घरै माथिबाट प्याराग्लाइडिङ उडेको देख्दा आफूलाई निकै खुसी लागेको बताउँदै यसको सफल उडानसँगै गाउँपालिकाले नयाँ योजना बनाएर नियमित उडान भर्ने वातावरण मिलाउन ढिला गर्न नहुने बताए । ‘अब योजनामै प्याराग्लाइडिङ उडानुपर्छ, गाउँपालिकाले त्यसको नेतृत्व गर्नुपर्छ’ उनले भने ।