मूल्य घट्दा पनि घटेन ब्यान्डविथ

756
views

काठमाडौँ । विश्वव्यापी रूपमै इन्टरनेट ब्यान्डविथको मूल्य व्यापक घट्दा पनि नेपालबाट हुने यसको आयात भने तुलनात्मक रूपमा ५० प्रतिशतभन्दा धेरैले बढेको छ । दुई वर्षअघि प्रतिएमबी ४० डलर आसपासमा रहेको ब्यान्डविथको मूल्य हाल औसत नौ डलर पुग्दा पनि आयातको ग्राफ भने निकै उकालो लागेको देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७५र७६ को पाँच महिनामै नेपालले ९२ करोड रुपियाँ बराबरको ब्यान्डविथ आयात गरेको छ । यो रकम अघिल्लो आवको सोही महिनाको तुलनामा ३२ करोडले बढी हो । सो अवधिमा ६० करोड रुपियाँको ब्यान्डविथ आयात भएको थियो ।

पछिल्लो समय इन्टरनेटको प्रयोग अत्यधिक बढेका कारण पनि ब्यान्डविथ आयातमा वृद्धि भएको हुनसक्ने इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान) का अध्यक्ष भोजराज भट्ट बताउनुहुन्छ । उहाँका अनुसार विगतमा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकलाई औसतमा एक एमबीपीएसको गतिमा इन्टरनेट उपलब्ध गराएकोमा पछिल्ला वर्षमा यस्तो गति औसत २० एमबी प्रतिसेकेन्ड पुगेको छ ।

‘समग्रमा इन्टरनेटको उपभोग बढ्दा पनि ब्यान्डविथ बढाउनुपर्छ’ उहाँले भन्नुभयो तर, नेपालीले प्रयोग गर्ने करिब ७५ प्रतिशत इन्टरनेट कन्टेन्टको हिस्सा ओगट्ने गुगल र फेसबुकको क्यास सर्भर नेपालमै हुँदा पनि ब्यान्डविथ आयातको वृद्धि भने अत्यधिक नै देखिएको उहाँले बताउनुभयो ।

मङ्सिरसम्मको प्राधिकरणको तथ्याङ्क अनुसार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या एक करोड ६० लाखभन्दा बढी छ । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले हाल मोबाइल ब्रोडब्यान्ड उपलब्ध गराइरहेका छन् । यसबाहेक निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकसहितले उपलब्ध गराउने फिक्स्ड इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ता करिब २५ लाख छन् । मासिक औसत दुई लाखभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थपिने गरेको प्राधिकरणको प्रतिवेदनले पनि देखाउँछ ।

इन्टरनेट सेवा प्रदायकहरूले अहिले मुख्यतः भारतबाट ब्यान्डविथ आयात गर्छन् । यसबाहेक नेपाल टेलिकमले गतवर्षमात्रै चीनबाट पहिलोपटक इन्टरनेट ब्यान्डविथ आयात गरेको थियो । सिङ्गापुरबाट समुद्र मार्ग हुँदै ल्याइने ब्यान्डविथ भारतीय क्यारियरमार्फत नेपाली इन्टरनेट सेवा प्रदायकले खरिद गर्दै आएका छन् । चीनबाट ल्याइने ब्यान्डविथ भने केरुङ नाका हुँदै स्थलमार्गबाट नेपाल ल्याउने गरिन्छ । गोरखापत्रबाट