प्रि–डिप्लोयमेण्ट तालिमको समापन

663
views

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ हुन जाने श्री देवीदत्त गण (शा.से.) नवौँ डफ्फाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक समारोहका बीच प्रि–डिप्लोयमेण्ट तालिमको समापन गरेकी छिन् ।

सो अवसरमा श्री देवीदत्त गण (शा.से.) नवौँ डफ्फामा सहभागी सकलदर्जाहरुलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले तालिमबाट प्राप्त गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सिप र क्षमता मिसन ईलाकामा उच्चतम उपयोग गरी शुरता र वीरताको गौरवमय इतिहास बोकेको नेपाली सेना शान्ति तथा समृद्धिका लागि अहिंसा, सहिष्णुता र करुणाको सन्देश विश्वमा फैलाउन संयुक्त राष्ट्रसंघको आह्वानमा विगत ६ दशकदेखि खट्टिएको स्मरण गराउँदै नेपाल र नेपालीको छवि उच्च राख्न शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारिताका साथ समर्पित हुन निर्देशन दिईन् ।

राष्ट्रपतिले आफ्नो पेशागत दक्षता, प्रतिष्ठा एवं मानवअधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावनासहित विश्वशान्ति प्रति नेपालको प्रतिवद्धताको सन्देश फैलाउन सफलताको शुभकामना समेत प्रदान गरिन् ।

समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, राष्ट्रपतिका नीजि सचिव, रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, काभ्रेपलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, उक्त जिल्लामा तैनाथ अन्य सुरक्षा निकायका प्रमुखहरु तथा नेपाली सेनाका अधिकृतलगायत तालिममा सहभागी अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।