युवा क्रिकेटर सन्दिप लामिछाने वर्ष खेलाडी घोषित

1097
views

चितवन, फागुन २१ नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई पछि पार्दै युवा क्रिकेटर सन्दीप लामिछानेले वर्ष खेलाडी घोषित भएका छन् ।

नेपालका क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले मंगलबार प्रदान गरेको एनसीसीएस(सिप्यान) क्रिकेट अवार्डको पुरुषतर्फ लामिछाने उत्कृष्ट खेलाडी घोषित भएका हुन्। सो विधामा लामिछानेसहित कप्तान खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी थिए।
महिलातर्फ भने सीता रानामगर उत्कृष्ट घोषित भइन्। उनले इन्दु बर्मा, करुणा भण्डारी, रुबिना क्षेत्री बेलबासी र सरिता मगरलाई पछि पारेकी हुन्। इमर्जिङ खेलाडीको मनोनयनमा परेका अभिनास बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरामध्येमा पौडेल उत्कृष्ट घोषित भए।
ुवर्षको उत्कृष्ट क्षण विधामा करण केसीले डिभिजन–२ मा क्यानडाविरुद्ध खेलेको इनिङलाई उत्कृष्ट ठहर्याोइयो। केसीले सो खेलमा अविजित ४२ रन बनाएका थिए। यस विधामा दीपेन्द्रसिंह ऐरीले एकदिवसीय विश्वकप छनोटमा पपुवा न्युगिनीविरुद्ध खेलेको इनिङ, ज्ञानेन्द्र मल्लले युएईविरुद्ध लिएको क्याच, नेपाली महिला टिम थाइल्यान्डको टी–२० स्म्यासमा फाइनल गुगेको क्षण र पारस खड्काले युएईविरुद्ध बनाएको शतक मनोनयनमा परेका थिए।
यस्तै, रोहितकुमार पौडेलले युएईविरुद्ध बनाएको अर्धशतक, रुबिना क्षेत्रीले इन्डोनेसियाविरुद्ध गरेको बलिङ, सन्दिप लामिछानले विश्वभरका टी–२० खेलमा जनाएको सहभागिता, सोमपाल कामीले युएईविरुद्ध लिएको ५ विकेट र सन्दीप जोराले युएईविरुद्धको टी–२० खेलमा बनाएको अर्धशतक पनि उत्कृष्ट क्षणमा समेटिएका थिए। उत्कृष्ट क्षणको विजेता अनलाइन भोटिङको आधारमा घोषणा भएको हो।
यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्वक्रिकेटर कोमल पाण्डेलाई सम्मान गरिएको छ। वर्षको उत्कृष्ट खेलाडी पुरुषले १ लाख ३२ हजार रुपैयाँ पाउँदा अन्य चार विधाका विजेताले भने जनही ६६ हजार रुपैयाँ प्राप्त गरेका छन्। चितवन चित्रसारीका युवा खेलाडी सन्दिप वर्ष खेलाडी भएपछि चितवनमा खुसीयाली छाएको छ । यो घोषणा चितवनकै लागि गौरवको विषय भएको चितवनका खेलप्रेमीले बताएका छन् ।