पुलिस क्लब पराजित, थ्री स्टार सेमीफाइनलमा

37
views

झापा । विभागीय टोली नेपाल पुलिस क्लब पराजित भएपछि सेमीफाईनलमा ‘थ्री स्टार’ र ‘झापा ११’सँग प्रतिष्पर्धामा रहेका छन् । डोमालाल राजवंशी रंगशालामा बिभागीय टिम पुलिस क्लबसँग प्रतिष्पर्धामा उत्रिएको थ्री स्टार टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सेमीफाइनलमा प्रवेश गरेको हो । पुलिसलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्रि स्टार क्लबका विजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरेका थिए भने विक्रम लामाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरेका थिए ।

पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाएका थिए । रवि पासवानको प्रहार मैदान बाहिर गएको थियो । पुलिसको तर्फबाट कुनैपनि गोल हुन सकेन । थ्रि स्टारले तीन गोल गर्दै बिजयी भयो । प्रतियोगितामा पहिलोपटक निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक एलेन न्यौपाने भएका छन् । उनले नगद १५ हजार रुपैंयाँ पाए । विहिबारको खेल क्यामरुनको दाउफिन्स फुटबल क्लब क्यामरुन र लाली रुपन्देही ११ एफसीबीच हुने आयोजकले जनाएको छ ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बिजेता टीम थ्रि स्टारका कोच मेघराज केसीले आफ्ना चारजना महत्वपूर्ण खेलाडीको अनुपस्थितीमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए । थ्रि स्टारका चारजना खेलाडी उमेर समुहको राष्ट्रिय प्रतियोगिताका लागि क्लोज क्याम्पमा छन् । उनले झापासँगको खेलमा फरक रणनीतिका साथ मैदानमा उत्रने समेत बताए ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले पेनाल्टीमा युवा टिममा अनुभवको कमी रहेको स्विकार गरे । उनले पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा दवावका कारण स्कोर हुन नसकेको बताए । पुलिसले पहिलो हाफका गोल गर्ने सुन्दर मुभहरु बनाएको थियो ।

प्रतियोगिताको बुधबारको खेलमा टिकट काटेर खेल हेर्न आएका गरामनीका दिपक पौडेलले २० इन्चको एलइडी टेलिभिजन पाएका थिए । कार्यक्रममा क्यान्सर रोगबाट पीडित झापा जिल्ला फुटबल संघका पूर्वसचिव तिलक गुरुङलाई आयोजकका तर्फबाट २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।