विप्लवको गाउँमा सर्च अप्रेसन, नेतामाथि गोली प्रहार

758
views

कपिलवस्तु । कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेताको घरमा प्रहरीले छापा मारेको छ । शिवराज नगरपालिका– ९ स्थित शिवगढीको तुरन्तपुरमा बिहीबार बिहान प्रहरीको टालीले छापा मार्दा विप्लव नेता दुर्गा बहादुर रोकाको घरबाट पेस्तोलसहित अत्याधुनिक हतियार बरामद गरेको छ ।

प्रहरीले एसएमजी दुई नाल, त्यसमा लाग्ने म्यागजीन ३ ओटा, ६८ राउण्ड गोली चाईनीज पेस्तोल एक थान त्यसमा लाग्ने म्यागजीन २ ओटा र एनसिक्सटीन हतियारको १२९ राउण्ड गोली लगात गरी २ सय २ थान गोली बरामद भएको छ। यस्तै,वायरिङ तार ४० मिटर र रिमोट एकथान वरामद गरेको प्रहरीले प्रहरी उपरिक्षक (एसपी) अच्युतम पुडासैनीले बताए ।

प्रहरीले छापा हान्ने क्रममा रोका भाग्न खोजेपछि प्रहरीेले उनीमाथी गोली समेत प्रहार गरेको सुरक्षा श्रोतको भनाई छ । रोकाको खुट्टामा गोली लागेको र उनी समान्य घाइते भएका छन । उनको बुटवलमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीले बिप्लवका भान्जा यादव चन्दको घरमा पनि छापा हानेको छ । त्यहाँ स्थानीयले प्रतिकार गरेका छन् । नेपाल राष्ट्रिय आधारभुत विधालयका प्राध्यानाध्यापक समेत रहेका चन्दको घरमा छापा मार्दा विधार्थी र स्थानीयवासीले प्रहरीलाई अवरोध पुराएका थिए । स्थानीयले प्रतिकार गरेपछि प्रहरीले चन्दको घरमा भने छापा मार्न सकेन् ।