राष्ट्रिय सभाका अध्यक्षद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

648
views

काठमाडौं, २४, फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वभर रहेका महिलाहरु एवं सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख शान्ति एवं समृद्धिको कामना समेत गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ‘महिलाको नीति निर्माणलगायत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि कोपनहेगनमा मार्च ८ मा भएको अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनबाट विश्व महिला दिवस मनाउने सकारात्मक पहल शुरु भएको हो । महिला र पुरुष सँग–सँगै हिँड्ने वातावरणको श्रृजना गरी समतामुलक समाज निर्माण गर्ने अभिप्रायका साथमा सो समयदेखि विश्वभर महिला दिवस मनाउने गरिएको छ । सामाजिक न्याय प्राप्तिको आधारका रुपमा लैंगिक समानतालाई लिने गरिन्छ । लैंगिक समानताका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता, विभेदरहित व्यवहार हुनु जरुरी छ । महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न समान सोच एवं नविनतम पहल हुन जरुरी देखिन्छ ।’

उनले भनेका छन् ‘‘नेपालको वर्तमान संविधानमा मौलिक हक अन्र्तगत धारा ३८ मा महिलाको हकको व्यवस्था रहेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने हक सुनिश्चित गर्नुका साथै सम्पति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्थाले महिलाको सशक्तिकरण एवं राज्यका हरेक निकायमा पहुँचको अवस्था श्रृजना गर्न संवैधानिक आधार दिएको छ । संविधान कार्यान्वयनको क्रममा भएको तीन तहको निर्वाचनबाट संघीय संसदमा ३३.२३ प्रतिशत, प्रदेशसभामा ३४.३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व रहेकाले नीति निर्माण तहमा लैंगिक समानताका दृष्टिले नेपाल विश्व समुदायका लागि उदाहरण बनेको छ ।’’

शुभकामना सन्देश मार्फत भनेका छन्–महिलाको नीति निर्माण गर्ने तहसम्म मात्र नभई हरेक क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरी राष्ट्र निर्माणमा लाग्नु आजको आवश्यकता हो । प्रतिस्पर्धि र सक्षम नेपाली महिला हाम्रो चाहना हो, लक्ष्य हो । महिला सशक्तिकरण, सकारात्मक विभेद, आरक्षण, विशेष संरक्षणका कार्यक्रममार्फत महिलाको चौतर्फी विकास गर्न जरुरी छ । समतामुलक समाज, राष्ट्र, एवं विश्व निर्माण गर्न सबैमा आह्वान गर्दै पुनः अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।