अधिकारीसहित विभिन्न ७ क्षेत्रमा कार्यरत महिला सम्मानित

1139
views

काठमाडौ, २४, फागुन । जेसिआई काठमाडौं लेडि नेपालले मानवअधिकारका क्षेत्रमा पत्रकारितामार्फत् आवाज बुलन्द गरेकोले एबीसी न्यूजकी कार्यक्रम निर्माता, प्रस्तोता एवं समाचारवाचिका सन्तोषी अधिकारीलाई सम्मान गरेको छ ।

अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा काठमाडौंको जेसिस भवन थापाथलीमा आयोजित महिला सम्मान कार्यक्रममा महिला, बालबालिका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएकी पत्रकार अधिकारीले पीडित असाहाय महिलाको विकास र उत्थानमा आवाज बुलन्द पार्दै आएको भन्दै जेसिआई काठमाडौं लेडि नेपालले अभिनन्दन गरेको हो । कार्यक्रममा मानवअधिकारका लागि आवाज उठाउँदा भोग्नुपरेको चुनौती बारेमा पत्रकार अधिकारीले आफ्नो अनुभव सुनाएकी थिइन् ।

त्यसैगरि कार्यक्रममा नेपाल स्काउटबाट राजवदन जोशी, आर्युवेदिक क्षेत्रबाट डा. सरिता श्रेष्ठ, नेपालकै पहिलो पटक कृषि विज्ञानमा पिएचडि गर्ने डा.केशरी लक्ष्मी मानन्धर, नेपाल प्रहरीमा कार्यरत शुभद्रा वाइवा, भक्तपुर क्यान्सर अस्पतालकी अंकोलोजिष्ट डा. एलिशा श्रेष्ठ, लामो समय नर्सिङ क्षेत्रमा काम गरकी यज्ञलक्ष्मी प्रधानलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा महिलाहरुलाई सम्मानपत्र प्रदान गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले महिला जागरुक भए परिवार र समाजको विकास हुने बताइन् ।

महिलाको हक हितका लागि निरन्तर यात्रामा प्रोत्साहन र प्रेरणा दिनका लागि यो सम्मान गरिएको जेसिआई काठमाडौं लेडि नेपालकी अध्यक्ष अर्चना श्रेष्ठ मुनंकर्मीले बताइन् ।

हरेक वर्ष अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा महिलामा प्रेरणा र उत्साह जगाउन जेसिआई काठमाडौं लेडि नेपालले महिला सम्मान कार्यक्रमको आयोजना गर्ने गरेको जेसिआई काठमाडौं लेडि नेपालकी पूर्व अध्यक्ष सुनिता श्रेष्ठले बताइन् ।