भुकम्प प्रतिकार्यको एकिकृत सहयोग ढाँचा सफल

998
views

काठमाडौं । वि.सं २०७२ भूकम्पको प्रतिकार्य गतिविधिबाट सिकिएका पाठहरुको निचोड निकाल्न रेडक्रस अभियानले आयोजना गरेको ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले नेपालको भूकम्प पश्चात अवलम्बन गरिएको एउटै रेडक्रस अभियान, एउटै खालको योजना अन्तरर्गत एकिकृत सहयोग ढाँचा सफल र उपयोगी भएको निश्कर्ष निकालेको छ ।

छलफलले रेडक्रसको संस्थागत क्षमता र कानुनी आधारमा थप सुदृढीकरण गर्नुपर्ने, सामुदायिक सहभागिता र जवाफदेहिता, लैंगिक समानता, सञ्चार, अनुगमन मुल्याँकन जस्ता विषयहरुलाई एकाकार गरी उद्यार र प्रतिकार्यसम्बन्धी निर्देशिकाहरु मुलुकको संघीय संरचना अनुकुल ढाल्नुपर्ने विषयलाई प्राथमिकता दिएको छ ।

यस्तै प्रतिकार्यको लागि स्पष्ट कार्यविधि सहितको एक स्थायी संरचना निर्माण हुनुपर्ने र सहयोग सम्बन्धि सिद्धान्तहरुलाई व्यापक प्रचार गरिनुपर्ने जस्ता रणनीतिक प्राथमिकताहरु तय गरेको छ ।

नेरेसोका अध्यक्ष सञ्जीव थापाले भविश्यमा हुनसक्ने ठूला विपदमा थप प्रभावकारी सहयोग गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणको लागि दीर्घकालीन लगानी र साझेदारी बढाउन आवश्यक रहेको बताए ।

वि.सं २०७२ सालको विनाशकारी भूकम्प पश्चात रेडक्रसबाट गरिएको तत्काल सहयोृग तथा अति प्रभावित जिल्लाहरुमा सञ्चालित भुकम्प प्रतिकार्य कार्यक्रममा भएका राम्रा अभ्यास र चुनौतीहरुको समीक्षा गर्दै भविश्यमा यस्तै विपद् आँउदा रेडक्रसले अझ राम्रो गर्न व्यवहारिक उपाय सिक्न कार्यक्रम आयोजना गरिएको अन्तराष्ट्रिय महासंघका प्रतिनिधि जुजा किमले जानकारी दिए ।

नेपालमा रेडक्रसमार्फत् अती प्रभावित क्षेत्रहरुमा आवास, जीविकोपार्जन, स्वास्थ्य, सरसफाई लगायतका समुदायमा विभिन्न पक्षहरुको सहयोगमा सञ्चालित सहयोग गतिविधिहरु तथा संस्थागत क्षमता विकास गतिविधिहरुबाट सिकिएका पाठहरुको लागि ११ वटा समूहमा विभाजित भई छलफल आयोजना गरिएको र हरेक समूहका निश्कर्षहरु उत्तिकै महत्वपूर्ण भएको नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले बताउनुभयो ।

जापान, थाइलैण्ड, कतार, अष्ट्रेलिया, वेलायत, अमेरिका, क्यानडा, डेनमार्क, फिनल्याण्ड, कोरिया, क्यानडा, स्पेन र स्वीजरल्याड रेडक्रसका प्रतिनिधिहरु, नेपाल सरकारका गृह, शहरी विकास, महिला बालबालिका तथा जेष्ठ नागरीक, कृषि र स्थानीय विकास मन्त्रालयका प्रतिनिधिहरु, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका साथै भूकम्प प्रतिकार्य र पुननिर्माणमा संलग्न एनसेट, एचआरआरपी लगायतका प्रतिनिधिहरु १४० जनाको सहभागिता रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा गृहमन्त्रालयका उप सचिव वंशी कुमार आचार्यले भूकम्पको पहिलो दिनदेखि नै आफू हवाइअड्डामा खटिएको र रेडक्रसको कामबाट प्रभावित भएको बताए ।

सामाजिक तथा प्राविधिक क्षेत्रमा लगानी वढाउनुपर्नेः विज्ञहरु
विज्ञ र लाभान्वितहरुको छुट्टाछुट्टै प्यानल छलफल कार्यक्रम कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष रहेको थियो । विज्ञ समूहको छलफलमा एनसेटका डा. रमेश गुरागाईले सामाजिक परिचालन र प्राविधिक क्षमताको आधारमा हेर्दा ३ वर्षमा मुलुकले पुननिर्माणका क्षेत्रमा ठूलो प्रगति गरेको मान्नु पर्ने बताए ।

एचआरआरपीका लरेन लकुडले नेपालको पुननिर्माणले १२ वर्षजति समय लिनसक्ने आँकलन गरे ।

विज्ञ डा. राम थपलियाले नेपालका संस्थाहरुको निर्णय र कार्यान्वयन क्षमता नै कमजोर रहेको तर्फ औँल्याए ।

समाजशास्त्री डा. जीवन बानियाँले पुननिर्माण निकाय र प्रभावित वीच उपयुक्त सञ्चार हुन नसकेको खोजहरुले देखाएको औँल्याउँदै क्षतिको अवस्था संकलन र पुननिर्माण योजनामा प्रभावितका कतिपय विषयलाई उचित सम्बोधन गर्न नसकिएको बताए ।