राष्ट्रपति आज अमेरिकाको न्युयोर्क जाँदै

487
views

काठमाडौं, २६, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आईतवार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३ औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कतर्फ प्रस्थान गर्नेहुनुभएको हो ।

 

राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी फागुन २७ गते अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष र सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एन्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केर्सटी कालजुलेड तथा क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्यान्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उहाँले फागुन २९ गते संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नुहुनेछ ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी फागुन ३० गते न्युयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरेर चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम छ ।