भएन डेड करोडको लेखा परिक्षण

1040
views

महेन्द्र जिसी
पर्वत, २७, फागुन । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत फलेवासको मकै जोन परियोजनाको जोन सञ्चालक समितिको पदावधि सकिएको छ । दुईवर्ष अघि गठन भएको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाले मकैजोनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो । परियोजना सञ्चालक समिति २०७३ फाल्गुन २६ गते गठन भएको थियो ।

जोन कार्यलयको विधान अनुसार एउटा समितिले दुईवर्ष कार्यक्रम गर्न पाउने व्यवस्था गरेको छ । मकै जोन कार्यालयले जोन सञ्चालक समितिको निर्णय अनुसार वर्षिक कार्यक्रम गर्दै आएकोमा समितिको अवधी सकिएपछि समस्या भएको छ ।

नर बहादुर क्षेत्रीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पदावधि अब सकिएको छ । जोन सञ्चालक मातहातामा रहेको डेड करोड बराबरको कार्यक्रमको लेखा परिक्षण विनै समितिको मिति सकिएका कारण वेरुजु बढ्ने देखीएको कार्यालयले जनाएको छ ।

जोन सञ्चालक समितिले तीन वटा ठुला टयाक्टर, सात मिडियम टयाक्टर र २१ वटा मिल तथा तीन वटा मिनी टेलर, हलो खरीद गरेर वितरण गरेको थियो । साथै विभिन्न सिँचाई तथा पोखरी लगायतका कार्यक्रम सम्पन्न गरेको समितिले समयमा लेखा परिक्षण नगराएका कारण एक साता लेखा परिक्षणका लागि समय दिइएको कार्यालयका अधिकृत हेम राज तिवारीले बताउनु भयो । समितिलाई महालेखा परिषदले समेत ताकेता गरेको छ ।

समिति मार्फत वितरण भएका कृषि जन्य सामाग्रीको दुरुपयोग बढेका कारण पनि समिति गैर जिम्मेवार बनेको कार्यालयले जनाएको छ । प्रतिफलमा आधारीत अनुदान तथा यान्त्रीकीकरण खरीद र मकै बीउ भण्डार भवन निर्माण लगायतका काम गरेको समितिले लेखा परिक्षण नगराउँदा श्रेस्तामा देखीएका कारण वेरुजुको समस्या बढेको हो । समितिका सचिव नारायण भुसालले तत्काल समिति गठन गरेर कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।