गुणस्तरमा सबै टेलिकम कम्पनी असफल

983
views

काठमाडौं । मोबाइल सेवाको गुणस्तर मापदण्ड पूरा गर्न सबै टेलिकम कम्पनी असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको गुणस्तरका सम्बन्धमा गरेको परीक्षणमा कलतर्फ सबै कम्पनी असफल भएका हुन् ।

प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्ग क्षेत्रमा गुणस्तर परीक्षण गरेको थियो । चार स्थानमा भएको गुणस्तर परीक्षणमा कलतर्फ सबै कम्पनी प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न असफल भएको छन् । प्राधिकरणका अनुसार माघ पहिलो र दोस्रो साता नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको ड्राइभ टेस्ट गरिएको थियो। ड्राइभ टेस्ट अर्थात् प्राधिकरणले चलायमान सवारीसाधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकको तथ्यांक संकलन गरिएको हो ।

यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तरमापन एकै साथ गरिन्छ। हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी, थ्रीजी र टूजी) मध्ये सर्वा्धिक अनुकूल नेटवर्क स्वचालित रूपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ । उक्त ड्राइभ टेस्टअनुसार सबैभन्दा खराब मोबाइल फोन सेवा स्मार्ट टेलिकमको देखिएको छ । स्मार्ट टेलिकमसहित अन्य दुई टेलिकमको मोबाइल सेवा परीक्षण तीन फरक स्थानमा गरिएको थियो जसमा सबैभन्दा खराब सेवा स्मार्ट टेलिकमको देखिएको प्रतिवेदनले देखाएको छ ।

भक्तपुर, पोखरामा र बागलुङमा गरिएको ड्राइभ टेस्टको प्रतिवेदनअनुसार बागलुङमा कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा तीनवटै कम्पनी प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समयको मापदण्डमा असफल भएका छन् । प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय र सफलताको दर ९९ प्रतिशत वा त्योभन्दा बढी रहेकामा स्मार्टको ६५.७१ प्रतशत, एनसेलको ९४.३३ प्रतिशत र नेपाल टेलिकमको ९६.१५ प्रतिशत रहेको छ। तर आफैँ फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा भने एनसेल सफल भएको छ ।

बागलुङमा भएको परीक्षणमा आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा एनसेलको सबैभन्दा थोरै २ प्रतिशत छ । त्यसमा सबैभन्दा धेरै स्मार्ट टेलिकमको छ। स्मार्टको फोनकल बिच्छेद हुने दर ६.५२ प्रतिशत र नेपाल टेलिकमको ४ प्रतिशत छ। यसका लागि प्राधिकरणले २ प्रतिशतको मापदण्ड तोकेको थियो ।

भक्तपुरमा भएको परीक्षणमा कल सफलताको दर ९९ प्रतिशत वा सोभन्दा माथि हुनुपर्नेमा स्मार्टको केबल ६९.५२ प्रतिशत छ । एनसेलको ९५.१४ प्रतिशत र नेपाल टेलिकमको ९३.४८ प्रतिशत छ । भक्तपुरमा पनि तीनवटै कम्पनी परीक्षणमा असफल भएका छन्। पोखरामा भने आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरको मापदण्डमा भने तीनवटै कम्पनी उत्तीर्ण भएका छन ।

तर, कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा सबै कम्पनी फेल भएको प्रतिवेदनमा उल्लेख छ। पोखरामा आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दरमा तीनै कम्पनीको शून्य प्रतिशत भएको प्रतिवेदनमा छ। कल स्थापना हुन लाग्ने समय र सफलताको दरमा भने स्मार्टको ९२.८६ प्रतिशत, एनसेलको ९५.७१ प्रतिशत र नेपाल टेलिकमको ९८.७१ प्रतिशत छ । पोखरामा सबैभन्दा उत्कृष्ट नेपाल टेलिकम देखिएको छ ।

प्राधिकरणले पृथ्वी राजमार्गमा भने नेपाल टेलिकम र एनसेलको मात्रै मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो। जहाँ फोन कलको मापदण्डमा दुवै कमजोर देखिएका छन्। पृथ्वी राजमार्गमा कल स्थापना हुन लाग्ने समय र सफलताको दर एनसेलको ७४.०५ प्रतिशत छ भने नेपाल टेलिकमको ८३.४७ प्रतिशत छ। यस्तै आफै फोनकल वा सम्पर्क बिच्छेद हुने दर एनसेलको ८.२५ प्रतिशत छ भने नेपाल टेलिकमको ६.९३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। यो दर परीक्षणका लागि हरेक कलको अवधि दुई मिनेटराखिएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा टेलिकम अपरेटरहरूको इन्टरनेट सेवाको पनि परीक्षण गरिएको छ। इन्टरनेट सेवाको परीक्षणमा भनेसेवा प्रदायकको परिणाम सकारात्मक देखिएको छ । प्राधिकरणले इन्टरनेटमा वेबपेजबाट फाइल डाउनलोड हुने सफलताको दर, पिंग गर्न लाग्ने समय, डाउनलोड डाटको बहाव, अपलोड डाटाको बहावका आधारमा परीक्षण गरेको थियो । त्यसमध्ये पिंग गर्न लाग्ने समयमात्रै प्राधिकरणले मापदण्ड तोकेको देखिन्छ। अन्यमा मापदण्ड उपलब्ध नभएको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्गमा गरिएको नेपाल टेलिकम र एनसेलको परीक्षणमा नेपाल टेलिकम मापदण्डअनुसार नै वेबसाइट पिंग गर्न लाग्ने समय र सफलताको दरमा उत्तीर्ण भएको छ । प्राधिकरणले पिंग गर्न लाग्ने समय २५० मिलिसेकेन्डको मापदण्ड तोकेको छ। त्यसमा नेपाल टेलिकमको पिंग गर्न लाग्ने समय मिलिसेकेण्ड २४८ छ भने एनसेलको ३१७ मिलिसेकेन्ड छ। यस्तै बागलुङमा नेपाल टेलिकम र एनसेल दुवै मोबाइल इन्टरनेट सेवामा असफल भएका छन्। बागलुङमा टेलिकमको पिंग गर्न लाग्ने समय ३८६ मिलिसेकेन्ड छ भने एनसेलको ७६३ मिलिसेकेन्ड छ। पृथ्वी राजमार्ग र बागलुङ स्मार्टको सेवा उपलब्ध नभएको उक्त क्षेत्रमा भएको परीक्षणमा स्मार्टको तथ्यांक उपलब्ध नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पोखरामा गरेको मोबाइल इन्टरनेटको परीक्षणमा भने तीनवटै कम्पनी मापदण्ड पूरा गर्न सफल भएका छन्। पोखरामा नेपाल टेलिकमले अन्य दुई कम्पनीलाई उछिनेको छ। प्राधिकरणले पिंग गर्न लाग्ने समय २५० मिलिसेकेन्डको तोकेकामा नेपाल टेलिकमको सबैभन्दा थोरै १३२, एनसेलको २१२ र स्मार्टको २१६ मिलिसेकेन्ड छ। भक्तपुरमा पनि मोबाइल इन्टरनेट सेवामा नेपाल टेलिकम नै अगाडि देखिन्छ। भक्तपुरमा पिंग गर्न लाग्ने समय टेलिकमको केबल १३३ मिलिसेकेन्ड छ। उक्त स्थानमा एनसेलको १६७ मिलिसेकेन्ड छ । यहाँ स्मार्ट भने मापदण्डभित्र पर्न असफल भएको छ। भक्तपुरमा स्मार्टको पिंग गर्न लाग्ने समय ३०० मिलिसेकेन्ड रहेको छ। प्रतिवेदनअनुसार अब प्राधिकरणले कम्पनीलाई समय तोकेर आफ्नो सेवा सुधार्न निर्देशन दिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। http://annapurnapost.com बाट