दुई मिनेटले फ्लाइट छुटाएका यी ‘भाग्यमानी’

660
views

इथियोपिया, २८, फागुन । युनानी नागरिक एन्टोनिस माभ्रोपोलस आफूलाई ‘भाग्यमानी’ ठानिरहेका छन् जसले दुई मिनेट ढिलो पुगेकै कारण इथियोपियन एयरलाइन्सको विमानको निर्धारित यात्रा छुटाएका थिए ।

गत आइतबार इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो । जसमा सबै यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।

उक्त विमानको यात्री सूचीमा एन्टोनिसको पनि नाम थियो । तर त्यस दिन उनी दुई मिनेट ढिलो गरी विमानस्थल पुगेकै कारण उनको फ्लाइट छुट्यो ।

उनले ‘मेरो भाग्यशाली दिन’ भन्दै फेसबुकमा त्यस दिनको घटनालाई विस्तार गरेका छन् । उनले उक्त विमानका लागि आफूले लिएको टिकटसमेत फेसबुकमा पोस्ट गरेका छन् । आफू पुग्दा प्रस्थान द्वार बन्द भइसकेकाले उक्त विमानमा चढ्न नपाएको उनले बताए ।

केही मिनेटमै उक्त विमान दुर्घटना भएको खबर सुनेर आफू स्तब्ध भएको जिकिर गर्दै उनले दुई मिनेट ढिलोगरी विमानस्थल पुगेकोमा आफूलाई भाग्यशाली सम्झिएको पनि बताएका छन् ।

विमान छुटेपछि उनले अर्को विमानका लागि टिकट लिए । तर त्यसमा पनि उनले यात्रा गर्न पाएनन् । किनकि विमानस्थलमा अधिकारीहरुले उनलाई सोधपुछका लागि रोके । दुर्घटना भएको विमानको टिकट लिएर पनि यात्रा नगरेका कारणबारे सोधपुछ गर्न उनलाई रोकिएको थियो । ‘त्यो विमानको टिकट लिएर पनि यात्रा नगर्ने एकमात्र यात्रु मै रहेछु,’ उनले भने, ‘विमानस्थलका अधिकारीहरुले शंका निवारणका लागि मसँग सोधपुछ गरे, जसका कारण मैले अर्को फ्लाइट पनि गुमाएँ ।’ एजेन्सी