पोके अभिलेख कम्प्युटर र फाईलमा

843
views

महेन्द्र जिसी
पर्वत, २९, फागुन । जिल्ला प्रशासन कार्यालय पवतले पोके अभिलेखहरु कम्प्युटर र फाईलमा राख्न थालेको छ । सेतो कपडाका पोकोमा हुने जिल्लावासीको पुरानो व्यक्तिगत विवरणका अभिलेखहरु कम्प्युटर प्रणालीमा राख्न थालेको हो ।

प्रशासनले हालसम्म जारी गरेका नागरीकता तथा जिल्लावासीहरुको व्यक्तिगत विवरण कम्प्युटर र फाईलीङ व्यवस्थापन गरेपछि पुराना अभिलेखका सेतो कपडाका पोको मुक्त भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा पाँच दशक देखीको अभिलेखहरु थिए । कपडामा पोको पारेका अभिलेखमा किरा लाग्ने कुहीने, पानी चुहीएर विग्रने मुसाले काट्ने समस्या भएपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको पहलमा आधुनीक व्यवस्थापन सहित कम्प्युटर प्रणालीमा अभिलेख राख्न थालनी भएको हो ।

२०२३ सालदेखि नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि आधुनिक कम्प्युटर प्रणलीमा अभिलेख व्यवस्थापन गरेको हो ।

नागरिकताको प्रमाण पत्रको जानकारी र आधुनिक अभिलेख राख्न थालिएपछि फाइल खोज्दा विवरणहरु हराउन सक्ने भएका कारण यस्ता समस्या समाधान गर्न कम्प्युटर देखी फाईलिङको व्यवस्थापन थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

यस प्रणलीले जुनसुकै वर्षमा निकालेको नागरिकताको विवरण पनि तत्काल भेटिने ढकालले बताए ।

आधुनिक प्रणाली र व्यवस्थापनले ढाँट छल गरेर दोहोरो नागरिकता समेत निकाल्न समेत सक्ने छैनन् । साथै स्थानीय तह वा वडाको व्यक्तिको विवरण हेर्न पनि नागरीकताको नम्वर भए पुग्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट हालसम्म २ लाख १९ हजार १ सय ६३ वटा नागरिकता वितरण भएका छन् । जसमध्ये वंशजका आधारमा नागरिकता लिनेको संख्या २ लाख १८ हजार ८ सय ५, जन्मसिद्ध नागरिकता २, वैवाहिक अंगिकृत नागरिकता १ सय ३७ र कर्मचारी परिवार २१९ जनाले नागरिकताको प्रमाणपत्र लिएको तथ्यांक रहेको छ ।

अहिले जिल्लाको जनसंख्या एक लाख ४८ हजार रहेको छ । जनसंख्या भन्दा भन्दा झण्डै ७१ हजार बढि नागरिकता जारी भएको कार्यालयले जनाएको छ । यी सवै नागरिकताको विवरण कम्प्युटर प्रणालीमा पनि संलग्न गरिएको छ । प्रत्येक महिना र वर्षका कागजपत्रहरुलाई फाईलिङ्ग गरेर राखिएको छ । यसले सेवामा सहजता ल्याउने र सेवाग्राहीको समय बचत हुने भएको हो ।