यदि ट्रम्पले भिटो प्रयोग गरे महाअभियोगको तरवार झुण्डिने छ

968
views

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा संकटकालको घोषणा गरेर पनि मेक्सिको पर्खालको चाहना पूरा गर्न सकेनन् । सोचे र भएजतिका सबै वैकल्पिक बाटाहरुबाट अब कुनैपनि निकास नआएपछि उनी अन्तिम र निर्विकल्प बाटो रोज्न बाध्य भएका छन् । उनले प्रयोग गर्ने विकल्प भनेको भिटो नै हो । अमरिकी संविधानमा त्यसको प्रावधान रहेपनि सकभर प्रजातान्त्रिक तथा वैकल्पिक बाटाहरुको खोजी गर्ने प्रचलन बढी छ ।

भिटो र महाअभियोग प्रयोग र त्यसका असरका हिसाबले निकै अन्तिम तथा निर्विकल्प अस्त्रहरु हुन् । यी अमेरिकी संविधानमा समावेश छन् । ट्रम्प यदि भिटो अख्तियार गर्ने बाटोमा अघि बढेभने केही समयपछि उनका विरुद्ध महाअभियोगको तरवार झुण्डिइरहने छ । तथापि उनी यसै निर्विकल्प बाटोमा अग्रसर हुँदै गएका छन् ।

यसअघि घरेलु संकट र आपत् बिपद्का बखतमा मात्र लगाइने भनी गरिएको संवैधानिक व्यवस्थाविपरीत ट्रम्पले संकटकालको प्रयोग पनि गरे । तर उनी अफल भए । उनको जिद्धी र अहंकारले गर्दा उनका रिपब्लिकन सांसदहरु पनि उनका विरुद्धमा छन् ।

अहिले १२ जना रिपब्लिकन सांसदहरुले आफ्नै पार्टी नेता ट्रम्पकै विरुद्धमा मत जाहेर गरेका छन् । मेक्सिकोसँग जोडिएको अमेरिकी सिमानामा पर्खाल निर्माणका लागि ट्रम्पले अमेरिकी उपल्लो तथा तल्लो सदनसँग बजेट पास गरिदिन माग गरिरहेका छन्, यी सबै व्यर्थ साबित भएका छन् । राष्ट्रपति ट्रम्पले भने अमेरिकामा आप्रवासीका कारण संकट नै निम्तिएको बताउँदै दक्षिणी छिमेकी देश मेक्सिकोको सिमानामा पर्खाल टठड्याएरै छाडिने अडानमा रहिआएका छन् ।

छिमेकी देश मेक्सिकोको सिमाना भएर आप्रवासीको लश्कर पटकैपटक अमेरिका प्रवेश गरिरहने भएकाले पर्खाल ठड््याएपछि ट्रम्प यो संकटमोचन हुनसक्ने दाबी गरिरहेका छन् । तर उनको यो भनाइलाई प्रतिपक्ष डेमोक्र्याट तथा जानकार र विज्ञहरुले अस्वीकार गर्दै उनको तर्कको खण्डन गरिरहेका छन् ।

अमेरिकाले विश्वबाट संग्रह गरेर ल्याएको अकूत सम्पत्तिका कारण अनय देशहरुको तुलनामा अमेरिकी जनतालाई सेवा सुविधा र अवसरहरु बढी दिइएका छन् । यसले पनि गैरकानुनी आप्रवासनलाई निकै प्रोत्सहित गरिरहेको छ । अमेरिकी महादेशमा रहेका अन्य देशहरुको तुलनामा संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो आप्रवासी समस्या रहने गरेको छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले सीमा पर्खाल निर्माणको कुरा आफ्नो चुनावी नारा बनाएका थिए । यो नारा जसरी भए पनि आफू प्रतिबद्ध भएको ट्रम्प देखाउन चाहन्छन् । अमेरिकी सदनहरुमा आफ्नो बहुमत नपुग्ने भएपछि अनेकन पर्यत्न गर्दा पनि उनी पर्खाल निर्माणको बजेट जुटाउन वा पास गर्न सफल हुन ससकेनन् ।

हरेक प्रयत्नका बाबजुद उनी असफल भएपछि उनी राष्ट्रिय संकटकालको असफल प्रयासलाई पनि चुनौती दिंदै अहिले भिटोको प्रयोग गर्न तम्सिइरहेका छन् ।