“धौलागिरीमा जिप लाइनको आवश्यकता’’

160
views

–सचिन्द्र श्रेष्ठ

धौलागिरीको प्रबेशद्वार पर्वत कुस्मा अहिले लामो र अग्लो पुलै पुलको सहर भनेर परिचित छ, साथसाथै धार्मिक तथा पर्यटकिय स्थानले नयाँ नयाँ संभावना, अवसर र गन्तब्य पाईरहेको अवगत नै छ । आतंरिक तथा बाह्य पर्यटकको अहिले निकैनै बाक्लो उपस्थिति देख्न सकिन्छ । अहिले बिश्व पर्यटकीय नगरीमा नयाँ सोंच, जाँगर, उद्देश्य र आर्थिक लाभ गर्न अरु भन्दा फरक खालका साहसिक खेलहरुको ब्यापक प्रतिस्पर्धा देख्न पाइन्छ । जसले आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमन छ । यसबाट राष्ट्रले मनग्ये आम्दानीका बाटाहरू पाउने गरेको छ ।

यही फरक साहसिक खेलका बारेमा भनी रहँदा पंक्तिकारले यूएईको रसेलखेमामा अवस्थित बिश्वकै लामो जिप लाइनलाई नजिकबाट करीब १३ महिना पहिले देखेको थियो । जहाँ स्वदेश र बिदेशबाट अत्यन्त पर्यटकहरु त्यस खेलको मज्जा लिन आएका थिए । जसलाई हेरी रहदा कता कता आफ्नै ठाउँमा पनि यस्तो एडभेंचर खेल बनाउनसके कति पर्यटक नेपालमा भित्राउन सकिने थियो भनेर सोची रहन्थ्यो । रसेलखेमामा रहेको त्यो ‘जिप लाइन’ गिनिज र्वल्ड रेकर्डमा समेत बिश्वकै लामो जिप लाइन भनेर चिनिन्छ । समुन्द्री सतह देखि १६८० मि. अग्लो र २.८ कि. मि (१.७४ माईल) लामो छ ।

करीब २ बर्ष पहिले पोखरामा जीप फ्लायर भनेर अर्को साहसिक खेल गरी रहेको बेला केही समय पहिले काभ्रे धुलिखेल नपा–८ थाकले डाँडादेखि पाँचखाल नपा–५ खावासम्म ११०० मि. लामो र १३०० मी.अग्लो जिप लाइन शुरू भई सकेको छ । पर्वतलाई संघीय सरकारको पर्यटन मन्त्रालय अन्तर्गत कुस्मा न.पा.–३ को दुर्लुङमा रहेको क्यानयोंङ र दक्षिण भेगको महाशिलालाई नयाँ तथा बिकास गरिनु पर्ने पर्यटकिय स्थलको रुपमा अघि सारेको थियो । सोहि अनुरूप पंक्तिकारले पनि दुर्लुङदेखि बागलुङ नपा–१२ अमलाचौर बलेवामा रहेको भैरबस्थानसम्म जो समुन्द्री सतह देखि २२०८ मि. अग्लो जिप लाइन गराउन सके त्यहाँको आतंरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नया गन्तब्य पनि बन्न सक्ने थियो ।

अहिले बागलुङ बलेवामा केबलकार सञ्चालन तथा बन्जीजम्प, साईक्लिंङ समेत बन्ने तयारी अन्तिम चरणमा छ । यसले गर्दा बागलुङ बलेवाको भैरबस्थानमा थप तीर्थालु दर्शन गर्न जाने क्रम बढ्दो छ । यसले गर्दा बागलुङ तथा पर्वतमा समेत पर्यटक भित्रिने सम्भावना बढी देखिने र यसलाई प्रदेश राज्य, गैह्र सरकारी संघ संस्था तथा पर्यटन ब्यबसायी लागी परेर अगाडि बढ़नसके धौलागिरीले अझ नयाँ नयाँ गन्तब्य पाउने थियो र राज्य, समाज ब्यक्तिलाई रोजगार समेत सिर्जना हुँदै आर्थिक उन्नतिमा सहयोग पुग्ने निश्चित छ । यसरी पर्यटकिय सम्भावनाहरु बोकेका स्थानहरुमा पर्यटकिय विकासमा राज्यले पहलकदमी लिनु आवश्यक रहेको छ । यहाँ सुखि नेपाली र समृद्ध नेपालको अभियान जसरी आएको छ यो अभियानसँग पर्यटकिय विकास अनिवार्य हो ।