नेपालमै पहिलो गाउँपालिका अध्यक्षमा महिला विजयी

529
views

नवलपरासी, ३, जेठ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी हुनुभएको छ । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गर्नुभएको थियो । हुप्सेमा उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एकहजार ५७९ मत अन्तरका साथ विजयी बन्नुभएको छ । यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना राना एक हजार ४९४ मत अन्तरले विजयी बन्नुभएको हो ।
अध्यक्ष पदमा जिसीले कुल छ हजार ०९९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) लक्ष्मण पाण्डेले पाँच हजार ३३० मत प्राप्त गर्नुभएको थियो । यसैगरी, उपाध्यक्ष पदमा रानाले कुल छ हजार ८९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी तारा कुमारी विकले पाँच हजार ४०० दुई मत प्राप्त गर्नुभएको थियो ।