फागुको सन्देशः लैङ्गिक समानताको लागि कदम चाल

954
views

काठमाडौं । लैङ्गिक लगायत विविध क्षेत्रमा समानताका लागि सोंच, व्यवहार र योजनाको लागि रेडक्रसले आव्हान गरेको छ । फागु पूर्णिमाको अवसरमा रेडक्रसको अन्तराष्ट्रिय महासंघ तथा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम, प्रतिवद्धता र फोटो अभियानका क्रममा यस्तो आव्हान गरेको हो ।

होलीको अवसरमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले लैङ्गिक उमेर, भौगोलिक, स्वास्थ्य अवस्था जस्ता क्षेत्रमा विद्यमान असन्तुलित अवस्थाको अन्त्यको लागि सोंचमा परिवर्तन जरुरी रहेको बताउँदै यस वर्षको अन्तराष्ट्रिय महिला दिवसको समानताको सन्देश वर्षभरी नै उपयुक्त रहेको बताउनुभयो ।

विभिन्न ३६ वटा देशको सर्वेक्षण गर्दा रेडक्रसको निर्णायक मण्डलमा ७ सय ३८ मध्ये २०६ जना अर्थात् २८ प्रतिशत मात्र महिला रहेका पनि उहाँले जानकारी दिनुभयो । त्यसमा ५० देखि ५९ वर्ष समूहको बाहुल्यता रहेको र ३० वर्षभन्दा मुनिका युवाहरुको संख्या न्यून रहेको जनाइएको छ ।

यस्तै रेडक्रसको लाभान्वित सूचीमा महिलाहरुको संख्या अधिक रहेको र ५६ प्रतिशत कर्मचारी महिला रहेको जानकारी दिईयो ।

कार्यक्रममा होलीको रंग लगाउँदै नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्य राज पौडेलले घर, कार्यस्थल र समुदायमा महिला तथा युवा समानताको लागि पैरवी गर्ने फोटो प्रदर्शन गर्नुभएको थियो ।