दोहोरो रणनीति, सके फकाउने नभए तर्साउने

444
views

काठमाडौं, ११, चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति दोहोरो रणनीति अख्तियार गरेको छ। उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ। सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाइसकेको छ। विप्लव समूहलाई आपराधिक तथा विध्वंशकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ।

सरकारले भदौमा असन्तुष्ट पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग सम्वाद अघि बढाउने कोसिस गरिरहेका छन्। तत्कालीन वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा सम्बोधन गर्र्दै विप्लव समूहप्रति लक्षित गर्दै ‘भूमिगत भएर कसैले क्रान्तिको सपना नदेखे हुन्छ र सरकारसँग अब ब्याक गियर छैन’ भनेर तर्साउने किसिमको अभिव्यक्ति दिएकै समयमा तत्कालीन वार्ताटोलीका संयोजक र केही सदस्य सो समूहसँग वार्ता अघि बढाउन सम्पर्क गरिरहेका थिए। पाण्डेले विप्लव समूहका केही नेता सम्पर्कमा रहेको र व्यक्तिगत रुपमा संवाद जारी रहेको बताए। सरकारले उनीहका गतिविधिलाई प्रतिबन्ध लगाए पनि आफूहरूले वार्ता र संवादलाई जारी राखेको पाण्डेको दाबी छ।

स्रोतका अनुसार पाण्डेको सम्पर्कमा रहेका विप्लव समूहका पोलिटब्युरो सदस्य मोहन कार्की पक्राउ परिसकेका छन्। कार्की पक्राउ परेपछि विप्लव समूहले पाण्डेलाई अविश्वास गरेको थियो। पछिल्लोपटक विप्लव समूहका नेता हेमन्तप्रकाश वली पक्राउ परेपछि पाण्डेको सम्पर्कमा अर्का नेता आएको स्रोतले जनाएको छ। हेमन्तप्रकाश पक्राउसँगै पाण्डेको सम्पर्कमा आएका ती नेताले सरकारको रणनीति के हो भन्ने बारेमा छलफल गरेका थिए।

‘सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीबाट जेजस्ता अभिव्यक्ति सार्वजनिक भएका छन्, ती जायजै होलान् तर हामी वार्ता र संवादको कुरा गरिरहेका छौं। जुन कुरा प्रधानमन्त्रीज्यूलाई थाहा छ’, विप्लव समूहको सम्पर्कमा रहेका तत्कालीन वार्ताटोलीका एक सदस्यले भने। ती सदस्यका अनुसार केही दिनमा यसको असर देखिनेछ। ‘हामी निकै कोसिस गरिरहेका छौं। के सम्भव हुन्छ त्यसबारे प्रधानमन्त्रीलाई बिफ्रिङ गर्नेछौं। परिणाम देखिन पनि सक्छ’, ती सदस्यको दाबी छ। ती सदस्यका अनुसार सम्पर्कमा रहेका केही व्यक्ति कडा भूमिगत भएका छन्।

भूमिगतमध्ये एक व्यक्ति शनिबार साँझ तत्कालीन वार्ताटोलीका संयोजक पाण्डेको सम्पर्कमा आएका थिए। ‘वार्ताको विकल्प छैन भनेर प्रधानमन्त्रीलाई हामीले भनेका छौं। केही कोसिस भएका छन्। अहिलेलाई यत्ति नै भनौं’, नागरिकको जिज्ञासामा पूर्वसंयोजक पाण्डेले भने, ‘मुलुकले द्वन्द्व चाहेको छैन। संविधानमा भएका प्रावधानलाई टेकेर अधिकतम उपलब्धि हासिल गर्ने वा दुईतिहाइको सरकार बनाएर संविधान संशोधन गरेर भए पनि राजनीतिको मूलधारमा आउने विकल्प छ। यसबारे सरकारले छलफल गर्नुपर्छ।’

पाण्डेका अनुसार वार्ता नै समस्या समाधानको उत्तम विकल्प हो। पाण्डे संयोजकत्वमा गठित वार्ता टोलीले विप्लव समूह राजनीतिक वैचारिक भएको निष्कर्ष निकाल्दै वार्ता गर्नुपर्ने प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको थियो। सो प्रतिवेदनमा सरकार र विप्लव दुवै पक्ष वार्तामा बसेर राजनीतिक निकास निकाल्नुपर्ने सुझाव छ। सरकारले भने अहिले विप्लव समूहसँग औपचारिक वार्ताका लागि कसैलाई खटाएको छैन। पाण्डे आफैंले सम्पर्क सूत्रको रुपमा काम गरिरहेका छन्। ‘विप्लव समूहका केही नेता सम्पर्कमा हुनुहुन्छ। त्यसमध्येका एनजनाले शनिबार साँझ सम्पर्क गरेका थिए’, स्रोतले भन्यो, ‘सरकार सकेसम्म उनीहरुलाई राजनीतिक मूलधारमा ल्याउने कोसिसमा छ। वार्तामा नआए कारबाही अघि बढाउने तयारी पनि सरकारले गरिरहेको छ। पाण्डेजीले सम्पर्कमा आएका विप्लव समूहका ती नेतालाई यही सन्देश सुनाइदिनुभयो।’

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि नेता तथा कार्यकर्तामाथि निगरानी बढाइरहेको छ। विप्लव समूहको तेस्रो वरियताका नेता हेमन्तप्रकाश वलीलाई शनिबार काभ्रेबाट प्रहरीले पक्राउ गरेको छ। उनलाई चन्दको विश्वासपात्र मानिन्छ। वलीबाट प्रहरीले गोप्य दस्ताबेज बरामद गरेको छ। प्रहरीले सो समूहका नेता तथा कार्यकर्ताले प्रयोग गरेका ल्यापटप, मोबाइल फोन र अन्य सामग्री बरामद गरेको जनाएको छ। वलीसहित नौजना काभ्रेबाट पक्राउ परेका हुन्। पक्राउ गरेपछि उनीहरूलाई ललितपुर ल्याइएको छ।

ओलीसहित नौजनाविरुद्ध राज्यविरुद्धको अपराधसहित चार मुद्दामा म्याद थप भएको छ। ललितपुर जिल्ला अदालतले आइतबार उनीहरूलाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीहरूमाथि हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

चन्दा दिनेलाई पनि कारबाही
गृह मन्त्रालयले विप्लव समूहलाई चन्दा नदिन आग्रह गरेको छ। गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न र त्रास, धम्की र प्रलोभनमा नपर्न सबैलाई आग्रह गरेको हो। ‘कसैले आर्थिक सहयोग मागेमा वा धम्काएमा नजिकका प्रहरीलाई खबर गर्नू’, मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। कसैले विप्लव नेतृत्वको पार्टीलाई सहयोग गरेको पाइए सहयोग दिनेसमेत कारबाही गर्ने चेतावनी गृहले दिएको छ। nagariknews.nagariknetwork.com/news बाट