जर्मनी जान उडेको विमान स्कटल्याण्ड !

1326
views

लन्डन, १२, चैत । लन्डनको हिथ्रो विमानस्थलबाट सोमबार जर्मनीको डसेलडर्फका लागि उडेको ब्रिटिश एयरवेजको विमान बीए ३२७१ स्कटल्याण्डको राजधानी एडिनबर्गमा अवतरण गरेपछि यात्रु चकित भए ।

उडानका क्रममा यात्रुले आफू कता जाँदैछौं भन्ने पत्तो नै पाएनन् । जर्मनीका लागि उडेको विमान स्कटल्याण्ड पुग्छ भन्ने उनीहरुले कल्पनासमेत गरेका थिएनन् । विमान अवतरण भएपछि जब भनियो ‘एडिनबर्गमा तपाईहरुलाई स्वागत छ’, अनि यात्रुमा हल्लीखल्ली मच्चियो ।

विमानमा १४६ यात्री थिए । अवतरणपछि यात्रीले हो–हल्ला गरेपछि विमानमा इन्धन भरेर फेरि डसेलडर्फतर्फ प्रस्थान गरेको थियो । निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिलो उक्त विमान डसेलडर्फ पुगेको समाचार एजेन्सीले जनाएका छन् ।

पाइलटलाई गलत फ्लाइट प्लान दिइएका कारण यस्तो अवस्था आएको अधिकारीहरुको भनाइ छ । समाचार एजेन्सीहरुका अनुसार पाइलटलाई जर्मनी जानको सट्टा स्कटल्याण्ड रुट ‘फलो’ गर्न भनिएको थियो । एयर ट्राफिक कन्ट्रोलका कर्मचारीले गलत फ्लाइट प्लान दिएकोबारे ध्यान नै नदिएको बताइन्छ । (एजेन्सी)