लोकतन्त्रलाई धरापमा पार्ने सूचना प्रवाह नगर्न सभामुखको आग्रह

682
views

काठमाडौँ, १३, चैत । सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो । उहाँले सूचना माग्न पाउनु र सूचना प्रवाह गराउनु सबैको दायित्व भएकाले लोकतन्त्रमा खुल्लापन रहेमा सूचना मागिरहनुनपर्ने बताउनुभयो ।

महराले वास्तविक राष्ट्रिय एकता कायम गर्ने प्रकारका सूचना प्रवाहमा रचनात्मक हिसाबले सबै लाग्नुपर्ने बताउँदै सूचनाका नाममा लोकतन्त्रलाई धरापमा पार्ने काम गर्न नहुने बताउनुभयो ।

सूचनाको हकसम्बन्धी ऐनलाई आवश्यकतानुसार संशोधनका लागि सम्बन्धित पक्षसँग छलफलसहित ल्याइएमा संसद्ले पारित गर्न सहज भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना माग र प्रवाहको विवरण सार्वजनिक गर्न नेपाल सरकारका सबै निकाय, राजनीतिक दल, वित्तीय र सामाजिक संस्थालाई समेत नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न आदेश जारी गरिएको बताउनुभयो ।

आयुक्त किरण पोखरेलले सूचना प्रवाहमा देखिएका बाधा र अवरोध हटाउन आवश्यक रहेकाले कानूनबमोजिम पाउनुपर्ने सूचना नपाइएमा आयोगले आदेश दिएर सूचनाको हक कार्यान्वयन हुँदै आएको बताउनुभयो ।