भेनेजुएलामा रसियाली सेना पुग्यो

1109
views

काठमाडौं । अमेरिकी सैन्य हस्तक्षेपको खतरा बढेपछि भेनेजुएलामा रसियाली सेना पुगेका छन् । घरेलु राजनीतिक संकटको भुमरीमा परेको भेनेजुएलामाथि अमेरिकी तरवार खस्ने संभावना भएपछि रुसी सैनिक त्यहाँ पुगेको बताइएको छ । राजधानी सहर कराकासमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा रुसको इल्युशिन आईएल ६२ विमानमार्फत् केही पल्टन रुसी सैनिक त्यहाँ पुगेका छन् । सेनासँगै रुसले एन्टोनोभ एन १२४ कार्गो विमानमार्फत् ३५ टनको सैनिक उपकरण पनि भेनेजुएला पठाइसकेको छ । यो सैनिक डफ्फा सैनिक जनरल भासिलीको नेतृत्वमा पठाइएको बताइएको छ ।

अमेरिकाको उक्साहटमा चुलिंदो घरेलु संकटसँगै भेनेजुएलाले रुससँग सैन्य सम्बन्ध स्थापित गर्न हात अघि बढाएको थियो । यही सैन्य सम्झौताअनुसार रुसले सैनिक तथा सैनिक उपकरण तथा बन्दोबस्तीका सामानहरु कराकास पठाएको रुसले जनाएको छ ।

सेना तथा बन्दोबस्तीका सामानहरु पठाउनु भन्दा तीन महिना पहिले रुस र भेनेजुएलाले संयुक्त सैन्य अभ्यास गरेका थिए । यो सैन्य अभ्यासको ३ महिनापछि रुसले भेनेजुएलामा सेना पठाएको हो । यसलाई पश्चिमा देशहरुले निकै चिन्ता र चासोका साथ हेरिरहेका छन् । अमेरिकी समर्थक भेजुएली नेता हुआँ गुआइदोलाई अमेरिकी समर्थक शासकहरुले अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि निर्वा्चित राष्ट्रपति निकोलस मादुरोको नेतृत्वमा रहेका भेनेजुएली सरकार रुसतर्फ नजिकिँदै गएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएली मादुरोको सरकारलाई सत्ताच्युत गर्नका लागि सैनिक कारवाहीको विकल्प नभएको खुलासा गर्दै गर्दारुसी सेना त्यहाँ पुगेका छन् । अमेरिका लगायत अन्य उसका समर्थक देशहरुले भेनेजुएलामाथि नाकाबन्दी लगाइरहेका बेला रुसले उसलाई पूर्णरुपमा सहयोग गर्दै आइरहेको छ । अब त रुसले भेनेजुएलालाई खुल्ला आर्थिक तथा सैनिक सहयोग गर्नेगरी सहयोगी हातहरु अघि बढाइसकेको छ ।

यस विषयलाई लिएर अमेरिका अब एकपटक कर्नरमा पर्न गएको छ । अमेरिका तथा युरोपेली केही शक्तिशाली देशहरु एशियामा युद्ध थोपर्न चाहन्छन् । यी देशहरुले एशियामा युद्ध थोपरेर आफ्नो देशको साम्राज्यवादी युद्ध अर्थतन्त्र सुदृढ बनाउन चाहन्छन् । यस्तो अवस्थामा एशियामा जबर्जस्त थोपरिन लागेको युद्ध रोक्न भेनेजुएलामा गरिएको रसियाली कदम केही रक्षात्मक र सकारात्मक पनि रहेको छ ।

यसले अमेरिकी दबदबामाथि चुनौती पनि खडा गरिदिएको छ । आर्थिक रुपमा संरक्षणको नीति लिन पुगेको अमेरिका सैन्य रुपमा अब कसरी अघि बढ्ने छ, यसपछि खुल्दै जाने रणनीतिक विश्लेषकहरुको जिज्ञासा रहेको छ । विश्लेषकहरु भन्न थालेका छन्– काम लाग्ने भनेको टाढाको सानभन्दा नजिकको उधिन नै हो, दक्षिण अमेरिकामा रसियाको उपस्थितिले संयुक्त राज्य अमेरिकालाई आरामसँग निद्रा पर्न दिने छैन ।

यसलाई रुसको एक महसुर रणनीतिक कदम भनेर व्याख्या पनि गरिन थालिएको छ । केही समयअघि सिरियाली युद्धमा रुस र अमेरिका आमनेसामने भएर लडेका थिए । राष्ट्रपति बसर अल असदविरुद्ध अमेरिकी समर्थित सशस्त्र विपक्षीले सत्ता नै परिवर्तन गर्न लागेका बेला रुसले आफ्ना सैनिक सिरियामा तैनाथ गरी असदको पक्षमा उभिएको थियो । रुसले विपक्षीविरुद्ध सैन्य कारबाही थालेपछि अमेरिकी समर्थित विपक्षीहरु हार खाएर भागेका थिए ।