बागलुङदेखि पोखरासम्म निःशुल्क बस सेवा

3289
views

सीताराम थापा
बाग्लुङ, १३, चैत । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाले नगर प्रमुखको सहयोगमा बागलुङको दुर्गम स्थल बुर्तिवाङ देखि जिल्ला सदरमुकाम बागलुङ र प्रदेश सदरमुकाम पोखरासम्म अशक्त वर्गलाई निःशुुल्क बस सेवा दिने नयाँ कार्य शुरु गरेको छ ।

७० वर्ष पार गरेका ज्येष्ठ नागरिक, अपांगता भएका ब्यक्तिहरु, विधवा, एकल महिला र गरिब, दलित तथा जटिल खालका विरामीलाई पोखरासम्म बस सुविधा भएको हो । उनीहरुले निःशुल्क यातायात सुविधा पाउने भएका हुन ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले नगरस्तरका ज्येष्ठ नागरिक, अपांगता भएका र जटिलखालका विरामीका लागि जिल्ला सदरमुकाम बागलुङदेखि प्रदेश राजधानी पोखरासम्म आफ्नो व्यक्तिगत खर्चमा निःशुल्क यातायात सेवा प्रदान गर्ने घोषणा गरेका हुन् ।

नगर प्रमुख नेपालीले नगरस्तरमा बसोबास गर्ने गरिब, दलित, विपन्न, पिछडिएका, असहाय, अपांगता भएका नागरिकका सेवाका लागि आफूले निशुल्क यातायात सेवा सञ्चालन गरेको बताए । उनले प्रदान गरिने सेवा निरन्तर सञ्चालन गरिरहने प्रतिबद्धतासमेत जनाए । स्थानीय तहको निर्वाचनका समयमा जनतासँग गरेको प्रमृख प्रतिवद्धता पूरा गर्न नगर प्रमुख नेपालीले सुविधाको पहल गरेर देखाएका छन् ।

बुर्तिबाङमा रहेका जुनसुकै यातायात समितिबाट लक्षित नागरिकले सेवा लिन सक्ने भन्दै नेपालीले सेवा लिनका लागि आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि लिएर यातायात समितिमा सम्पर्क राख्न अनुरोध गरेका छ ।

सुरुमा आफ्नो परिचय खुल्ने कागजातको माध्यमबाट सेवा दिने र आगामी दिनमा आफुले नगर बाट परिचय पत्रको व्यवस्था गरिने नेपालीले बताए ।

लक्षित नागरिक छनौट र उनीहरुको सेवाका लागि बुर्तिबाङका यातायात समितिलाई नगर प्रमुख नेपालीले जिम्मेवारी दिएको र सेवा लिए बापतको रकम आफूले मासिक भुक्तानी गर्नेसमेत प्रतिवद्धता जनाए ।

नगरप्रमुख नेपालीद्वारा सञ्चालित निशुल्क वस सेवालाई व्यवस्थित र मर्या्दित बनाउन ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्यीय कार्यविधि निर्माण समिति गठन गरिएको छ ।

नगर प्रमुख नेपालीले निर्वाचनको प्रचारका क्रममा नगर प्रमुखमा विजय भएमा बागलुङ सदरमुकाम हुँदै प्रदेश सदरमुकाम पोखरासम्म निजी खर्चमा निशुल्क बस सेवा सञ्चालन गर्ने घोषणा गरेका थिए ।

नगर प्रमुख नेपालिले ब्यक्तिगत रुपमा शुरु गरेको प्रयासलाई नगरले संस्थागत गर्दै लागू गर्नु धेरै सकारात्मक कदम भएको सरोकारवालाहरु बताउँछन ।