अञ्चल अस्पतालको विकासमा मुख्यमन्त्रीको जोड

544
views

सीताराम थापा
बागलुङ, १३, चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अञ्चल अस्पतालका विकासमा प्रदेश सरकार संवेदनशील रहने प्रतिबद्धता जनाएका छन् ।

धौलागिरि अञ्चल अस्पताल बागलुङको अनुगमन गर्दै मुख्यमन्त्री गुरुङ सहितको टोलिले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने प्रतिबद्धता दाहोर्याएका छन् । उनले सरकारी निकायका हरेक संस्था सबल हुनका लागि आवश्यक व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत साधन आवश्यक पर्ने सबैलाई मिलाएर लैजान समयमै काम सुनिश्चित हुने गरि सबै लागि पर्न आब्हान गरे ।

मुख्यमन्त्री गुरुङले अञ्चल अस्पतालका सबै विभागहरुको अनुगमन एवं अवलोकनपछि अरुले भनेर सहयोग गर्नुभन्दा आफूले देखेर अनुभवका आधारमा सहयोग गर्दा सहयोगको सही सदुपयोग हुने भएकाले अस्पतालको अनुगमन स्वयं गरिएको बताए ।

धौलागिरी अंचल अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण तथा भौतिक सुधारका लागि सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवा सुविधा गुणस्तरीय नभएकोले बिरामीहरुले भारी गुनासो गर्दै आएका छन ।

१६ विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गदै आएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताए ।