अफगानिस्तानसँग नेपाल पराजित

503
views

काठमाडौँ, चैत १३ गते । २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गएराति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो ।

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५–० को हार व्यहोरेको थियो ।

अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक÷एक गोल गरे । खेलको २४ औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३४ औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २–० को सहज जित दिलाए ।

त्यस्तै समूह ‘ए’ बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट भएको छ ।

मङ्गलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई÷दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो ।