नेकपाले गर्यो १६ गतेको नेपाल बन्द फिर्ता

855
views

सीताराम थापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गतेको वन्द फिर्ता लिएको हो । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो ।

नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेपछि विप्लवको पार्टीले बन्द फिर्ता लिने निर्णय लिएको हो । बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए । बन्द फिर्ताको विषयमा आधिकारी विज्ञप्ति केही समयमा सार्वजनिक हुने स्रोतको दाबी छ ।

मानवअधिकार आयोगले फिर्ता लिन आग्रहः
राष्ट्रिय मानवअधिकार आयोगले चैत १६ गते नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्द प्रति चासो प्रकट गरेको छ । साथै आमनागरिकका लागि कष्टप्रद र मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

आयोगले ‘नेपाल बन्दका कारण विद्यालयका बालबालिकाको एसइई परीक्षा एवं सोही दिनका लागि निर्धारण गरिएको कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको केन्द्रीय समितिको देशव्यापी निर्वाचनमा समेत असर पर्ने देखिन्छ ।’ भनेको छ ।

बन्दजस्तो कष्टकर र सामान्य जनजीवन नै ठप्प हुने किसिमको विरोधको कार्यक्रमले आमनागरिकको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, शिक्षा, पेशा व्यवसाय तथा रोजगारीको अधिकार र न्यायमा पहुँचलगायतका विभिन्न अधिकारको उपभोगमा असर पर्ने देखिने विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान एवं विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकार कानूनले प्रत्याभूत गरेका अधिकारको उपभोगबाट सामान्य नागरिकसमेत वञ्चित रहनुपर्ने स्थिति रहने र बन्दको आह्वानले आमनागरिकको हकअधिकार संरक्षणभन्दा जनजीवन नै कष्टकर र पीडादायी हुने हुँदा विरोधका कार्यक्रम फिर्ता लिन आयोगले ध्यानाकर्षण गराएको छ ।