एसईईः सामाजिक विषयको प्रश्नपत्र बाहिरियो

894
views

जनकपुर । जारी एसईई परिक्षामा प्रदेश नं २ मा ’अनिवार्य सामाजिक अध्ययन’ विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको पुष्टि भएको छ । शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रमाकान्ता शर्माले प्रश्नपत्र बाहिरिएको पुष्टि गरेका हुन् ।

उनले आजको परीक्षा स्थगित गरिएको जानकारी दिए । आजको लागि तोकिएको प्राविधिक विषयको र ग्रेड वृद्धिको परीक्षा भने यथावत् रहेको छ ।

विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको थियो ।