दुर्गम गाऊँका प्रिय डाक्टर

2588
views

सीताराम थापा
बागलुङ । बागलुङ जिल्ला नेपाल भित्रको अर्काे नेपाल हो। यश जिल्लाको पश्चिम तमानखोला गाउँपालिका भौगोलिक हिसाबले अति विकट छ । त्यस क्षेत्रमा गएर जनतालाई सेवा दिनका लागि कर्मचारी र स्वास्थ्यकर्मीलाई कठिन छ । तर यही विकट क्षेत्रमा एउटा स्वास्थ्यकर्मी भने गाउँलेजनको प्रिय बनेका छन् ।

बोङ्गादोभान आफैमा बुंङ्ग उदाङ्गो भिरमा खर चारै तिर छ, यसैको उप नाम मिल्न गएको छ । त्यहाँका स्वास्थ्य चौकीका सिएमए राजन थापाले तमानखोला गाउँपालिकामा स्वास्थ्य सेवा दिँदै आएको चार बर्ष पुरा भएको छ । काम गरेर धेरै गाउँलेको प्रिय बनेका उनलाई स्थानीय उनलाई भगवान झैं मान्छन् ।

सिएमए, थापा गाउँका हरेक समुदायका व्यक्तिसँग उत्तिकै घुलमिल छन् । पदले सिएमए भए पनि उनले धेरै किसिमका तालिम लिएका छन् । नेपालगञ्जमा स्थायी घर भएका थापाले लामो समयसम्म स्थानिय स्वास्थ्य संस्थाको जिम्मेवारी सम्हालेर काम गर्दै आएका छन् ।

सरकारी सेवामा प्रवेश गर्नुभन्दा पहिलेदेखिकै अनुभव छ उनम । परिआएको खन्डमा जस्तोसुकै उपचार पनि आँट्ने थापालाई ग्रामिणहरु ‘डाक्टर साब’ भनेर बोलाउँछन् । २०७१ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थापा अहिले तमानखोलाबासीको मन मनमा भिजेका छन। कोही बिरामी भयो कि, ग्रामिणहरु उनलाई बोलाउँछन्। कार्यालय समय बाहेक उनले घरमै गएर पनि आवश्यक उपचार गर्दै आएका हुन ।

थापा, जटिल समस्या भएका बिरामीलाई तुरुन्तहरु अस्पताल रिफर गर्छन् । बिरामीसँग उपचार गर्ने पैसा छैन भने थापा आफैंले सहयोग गरेर अस्पतालमा पठाउने व्यवस्था गरिदिन्छन् । खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालनका लागि घन्टौं हिंडेर गाउँ गाउँसम्म पुग्छन थापा ।

‘डाक्टर साब, त हाम्रा लागि भगवान् नै हो’, स्वास्थ्य संस्थामा जाँच गर्न आएका सेवाग्राही तोपमाया घर्तीले भनिन्, ‘हामी स्वास्थ्य चौकी आउनेबित्तिकै के भएर आउनुभयो, कस्तो छ भन्दै सोध्नुहुन्छ । उहाँको सेवाले गाउँका कति बिरामीको अकालमा ज्यान जानबाट जोगिएको छ ।’ नजिकै स्वास्थ्य चौकी र असल डाक्टरसाहब हुँदा धेरै सजिलो भएको उनले बताइन् ।

पछिल्लो समयमा बोङ्गादोभानमा स्वास्थ्यका हरेक सूचकमा पनि सुधार आएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर बताउँछन् । ‘यस क्षेत्र स्वास्थ्य–शिक्षामा निकै कमजोर थियो,’ बुढाले भने, ‘राजन सरले समुदायमा गएर स्वास्थ्य शिक्षा दिँदै आउनुभएको छ । यहाँका स्थानीयले सरसफाइ र खानपानमा ध्यान दिन थालेका छन् । गाउँलेहरु सामान्य रुघाखोकी लागे पनि अहिले स्वास्थ्य संस्थामा आउने परिपाटी बढेको छ।’

सेवा लिन जाँदा नङ काट्नैपर्ने
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर र ल्याब पनि सञ्चालन गरिएको छ । संस्थामा कार्यरत अन्य कर्मचारी पनि निकै उत्साहित भएर सेवामा खटिइरहेका हुन्छन् । स्वास्थ्य चौकीकी अनमी गायत्री राम्जाली भन्छिन्, ‘अहेब थापा अरु साथीहरुलाई हौसला दिनुहुन्छ । जनतालाई सेवा दिने हाम्रो दायित्व हो भन्ने भावना छ राजन सरमा।’ थापाको हौसला र प्रेरणाले आफूहरुलाई पनि काम गर्न सहज भएको राम्जालीले बताउँछिन ।

स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिनु पहिले हातको नङ हेर्ने गरिन्छ। जसले नङ काटेको छैन, उसलाई पहिले नङ काट्न लगाएर मात्र नाम दर्ता गर्ने स्वास्थ्य संस्थाको नियम छ । ‘स्वस्थ्य हुनका लागि आफू स्वच्छ हुनु जरुरी छ, त्यसैले हामीले यो अभियान चलाएका छौं,’ अहेब थापाले भने, ‘पहिलेको तुलनामा स्वास्थ्य संस्थामा जाँच गर्न आउनेको संख्यामा बृद्धि भएको छ ।

थापाले स्वास्थ्य संस्थाको कामको अलावा समय समयमा हुने परिवार नियोजनका शिविरहरुमा पनि सघाउँदै आएका छन् । त्यस क्षेत्रमा इम्प्लान्ट राख्ने काम पनि थापाले नै गर्ने गर्छन् । ‘गाउँमा सेवा दिने स्वास्थ्यकर्मीले विभिन्न कठिनाइ झेल्नुपरेको थापाले बताए । ‘कतिपय ठाउँमा बसोबासको व्यवस्था छैन भने कतै उपकरण अभाव छ ।’

तमानखोलालाई स्वच्छ र समृद्ध बनाउने लक्ष्यमा आफूहरु रहेको थापाको भनाइ छ । ‘गाउँपालिकाले नीति बनाइदियो भने स्वास्थ्य संस्थामा नै फार्मेसी स्थापना गर्ने हाम्रो सोच छ,’ उनले भने, यो क्षेत्रमा ल्याबको खाँचो थियो, गाउँपालिकासँग अनुरोध गरेर ल्याब स्थापना गरेका छौं । अब सामान्य रगत, पिसाब जाँच गर्न बुर्तिबाङ धाइरहनुपर्दैन ।’