हावाहुरीले २७ को मृत्यु चारसय बढी घाइते

506
views

काठमाडौँ, १८, चैत । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीले २७ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी २७ जनाको निधन भएको र ४०० भन्दा बढी घाइते भएको वताइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बारामा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–७ का ६५ वर्षीया कोइलीदेवी, सोर्नागाउँपालिका–८ का ३५ वर्षीय तरिफ खान र पहिचान नखुलेका एक भारतीय नागरिक छन् ।

यहाँ मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको उहाँले जानकारी दिए ।

घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिए ।