देजमोद्वारा बारा घटनामा दुःख व्यक्त, राहत र निःशुल्क उपचारको माग

682
views

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले बारा पर्सामा आँधीहुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । गजुरेलले घटनाप्रति एक वक्तव्य जारी गर्दै दुःख प्रकट गरेका छन् ।

वक्तव्यमा शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको तत्काल र निःशुल्क उपचार गर्नका साथै राहत उपलब्ध गराउन सरकारसित माग गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “यही चैत्र १७ गते आइतवार विशेषतः बारा र पर्सा जिल्लामा आएको आँधी, हुरी, असिना र वर्षाका कारण ३१ जनाको ज्यान जानुका साथै धेरैको संख्यामा गम्भीर घाइते भएको खबरले हामी अत्यन्त दुःखि भएका छौं ।

यस दुखद घडीमा हामी दिवंगत हुनु भएकाहरुप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । घाइते हुनु भएकाहरुको शिघ्र स्वास्थलाभको कामना गर्दछौं । मृतकका परिवारजनलाई अविलम्ब राहत रकम सहित सहयोग उपलव्ध गराउन र घाइतेहरुको तुरुन्त उपचार गर्न केन्द्र सरकारसँग जोडदार माग गर्दछौं ।’’