स्याटेलाइटका तस्बिर हेर्दाहेर्दै विपत्तिको खबर

65
views

काठमाडौं, चैत १९ गते । बारा र पर्सा क्षेत्रमा आइतबार साँझ अत्यधिक वर्षा, चट्याङ र हावाहुरी एकैचोटी आयो । त्यसको जानकारी जल तथा मौसम विज्ञान विभाग र मौसम पूवार्नुमान महाशाखालाई थिएन ।

पूर्वानुमान महाशाखाको ड्युटीमा खटिनु भएका मौसम पूर्वानुमान अधिकृत मिनकुमार अर्यालले पनि बारा, पर्साको विपत्ति अनुमान नै गर्नु भएन । साँझ एक्कासि स्याटेलाइटले हावाको बेग पूर्व्तिर फर्किएको देखायो ।

मँ हरेक दश मिनेटमा स्याटेलाइटले पठाएको तस्बिर हेर्दै थिएँ, अनि चट्याङ रेकर्ड गर्ने सिस्टम हरेक तीन–तीन मिनेटमा हेर्न थालेँ,” उहाँले थप्नुभयो, “मौसमको सङ्केत चार्टको अध्ययन पनि साथसाथै गर्दै थिएँ । तर यी सबैले मध्य तराईस्थित बारा र पर्सा क्षेत्रमा एक्कासि वर्षा, हुण्डरी र चट्याङ आउनसक्ने सम्भावना भने देखाउन सकेन ।”

वर्षात्सँगैको हुरीले बारा र पर्सामा कतिपयको ज्यान लिइसकेको थियो । धेरै घाइते भइसकेका थिए । धेरै जनाको घरबास उडाइसकेको थियो । फोनबाट उताको वास्तविक खबर पाए पनि प्रविधिले दिने सूचनाबाट भने उहाँ आफै सो समयमा जानकार हुन सक्नुभएन । नेपालमा हावा नै नचल्दा पनि ४० नटको हावाको वेग देखाउने स्याटेलाइटले साँझ त्यस्तै सङ्केत गरिरहेको थियो । यो भनेको अत्यधिक वेग हो । यस्तो त्यसै देखायो कि साँच्चिकै देखायो भन्ने अनुमान अर्याल लगायतका पूर्वानुमानकर्मीले गर्न सकेनन् ।

नेपालमा सामान्यतया १० देखि २० नटसम्मको हावाको वेग अनुमान गरिन्छ । २० नटमा दश मिटर प्रतिसेकेण्ड वायुको वेग रहेको मानिन्छ । आइतबार सा“झ आएको हावाहुरीसहितको प्राकृतिक विपत्तिको जानकारी यकिन नहुँदा पूर्वतयारी गर्न कसैले सकेनन् । ‘बंगालको खाडी र अरेबियन खाडीको ठूलो आँधीहुरी र ठूलो वर्षाको अनुमान वर्तमान प्रविधिले गर्छ,” जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले भन्नुभयो, “उच्च गतिमा थोरै समयका लागि आउने विषम मौसमको अवस्था समात्नै सक्दैन ।’

विश्वव्यापी स्याटेलाइटको मोडेलले विश्वव्यापी घटना मात्र खुट्याउन सक्ने उहाँले दाबी गर्नुभयो । “नेपालमै राडार प्रणालीको व्यवस्था भएको भए यसको अनुमान गर्न सक्थ्यौं,” उहाँले थप्नुभयो, “कुन ठाउँमा कति खराब मौसम छ, कति पानी वा असिना प¥यो अनि हावाको वेग कतातिर लक्षित भन्ने कुरा रडारले आफ्नो क्षेत्रमा देखाउन सक्छ ।”

उहाँले आइतबारकोजस्तो घटना चैत, वैशाख र जेठ महिनाको जुनसुकै बेला हुनसक्ने जानकारी दिनुभयो । सीमित क्षेत्रमा, थोरै समयमा ठूलो क्षति हुने घटनाको पूर्वानुमान आधुनिक प्रविधि र दक्ष जनशक्तिकै अभावका कारण गर्न नसकिएको उहाँले स्विकार गर्नुभयो ।

महाशाखाको बेवसाइटमा चैत १७ गते आइतबार यस्तो लेखिएको थियो, “दिउँसो पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागका धेरै तथा मध्य र पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पूर्वी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागको मौसम आंशिक बदलि रहनेछ ।” यसले वर्षाको सामान्य पूर्वानुमान गरे पनि आइतबारकोजस्तो अत्यधिक वर्षात् र हुरीको वेगको अनुमान गरिएन ।

स्थानीय वायुको प्रभावसँगै चट्याङ र हावाहुरीको पूर्वानुमान गर्ने प्रविधिको अभाव हुँदा आइतबारको घटना भएपछि मात्र थाहा भएको उहाँले बताउनुभयो ।

वर्षातको विपत्ति रोक्न देशभरमा आकाशबाट परेको वर्षात मापन गर्न ९१ वटा र नदीको सतह मापन गर्न ५० वटा स्टेशनबाट काम भइरहेको विभागले जनाएको छ । आउँदो डिसेम्बरसम्ममा आकाशे पानीको मापन गर्ने ८० र नदी सतह मापन गर्ने ७० स्टेसन थप्ने योजना विभागको छ ।

नेपालसँग जापानले सहयोग गरेको स्याटेलाइट र चट्याङ रेकर्ड गर्ने प्रविधि सहितको मेसिन मात्र छ । मौसमको सबै इकाइ मापन गर्ने राडार प्रविधि अझै परिक्षणकालमै छ ।

हावाको वेग मापन गर्ने छुट्टै प्रविधि नेपालमा छैन । हालैमात्र सुर्खेतको गुराँसे डाँडामा राडार जडान गरी अध्ययन भइरहेको छ । यसले मौसमको सबै इकाईको सबै तहको जानकारी स्याटेलाइट मार्फत् सङ्कलन गर्न सक्ने विभागका महानिर्देशक वैद्यले बताउनुभयो । तर यसको क्षमता करिब दुई सय किलोमिटर भित्र मात्र छ ।

परियोजना नै सञ्चालन गरेर उदयपुरको चित्रे डाँडा र पाल्पाको रिद्धिकोटमा थप राडार जडान गर्ने तयारी विभागले गरेको छ । उपत्यकाका लागि नागरिक उड्डयन प्राधिकरणसँग मिलेर छुट्टै राडार जडान गर्ने विषयमा छलफल भैरहेको महानिर्देशक वैद्यले बताउनुभयो । यो खवर गोरखापत्र अनलाईनबाट लिएका हों ।