पुरस्कृत तथा सम्मानित हुने साहित्यिकारहरुको नाम सार्वजनिक

879
views

निर्मल, पौडेल
पर्वत । साहित्यिक संस्था पर्वत साहित्य सङ्गमले आफूमार्फत प्रदान गरिने विभिन्न ६ वटा साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गर्ने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । पुरस्कार तथा सम्मानका लागि चयन हुनुभएका स्रष्टाहरुमा पर्वतका शान्तिनारायण श्रेष्ठ, कृष्णादेवी शर्मा श्रेष्ठ र प्रकृति शर्मा, बागलुङका प्रेम छोटा र काजी रोशन एवम् म्याग्दीका ध्रुबलाल शर्मा रहनुभएको छ । दशहजार राशी रहेको पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कार बागलुङका अग्रगन्य साहित्यकार प्रेम छोटालाई अर्पण गरिने भएको छ भने दशहजार राशीको मान–पदम स्मृति साहित्यिक पुरस्कार बागलुङकै अग्रज साहित्यकार काजी रोशनलाई समर्पण गरिने भएको छ ।

यसैगरी दशहजार राशीको डिल्ली–राधा साहित्यिक पुरस्कार पर्वतका अग्रगन्य स्रष्टा शान्तिनारायण श्रेष्ठलाई र दशहजार राशीकै नमुना शिक्षा तथा साहित्यिक पुरस्कार हाल नवलपरासीमा रहेर साहित्य साधनारत नारी स्रष्टा कृष्णादेवी शर्मा श्रेष्ठलाई अर्पण गरिने भएको पर्वत साहित्य सङ्गमले जनाएको छ ।

दशहजार राशीको गोपी–नन्द स्मृति साहित्यिक पुरस्कार म्याग्दीका अग्रज साहित्यकार ध्रुबलाल शर्मालाई समर्पण गर्ने निर्णय भएको पर्वत साहित्य सङ्गमका सचिव खेमराज शर्मा चापागाईंले जानकारी दिनुभएको छ । यसैगरी पाँचहजार राशीको संस्कृति बालप्रतिभा पुरस्कार पर्वतकी बालप्रतिभा प्रकृति शर्मालाई प्रदान गरिने भएको छ । प्रत्येक दुई बर्षमा प्रदान गरिने यी पुरस्कारहरु यसअघि २०७२ सालमा पर्वतका स्रष्टा साधना प्रतीक्षा, सदानन्द अभागी, बालप्रतिभा अमन पौडेल, बागलुङका भूपिन र म्याग्दीका भक्त कार्कीलाई समर्पण गरिएको थियो ।

घोषित पुरस्कार मध्ये पर्वत साहित्य सङ्गम साहित्यिक पुरस्कारको स्थापना पर्वत साहित्य सङ्गमले गरेको हो भने मान–पदम स्मृति साहित्यिक पुरस्कारको स्थापना सङ्गमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले आफ्ना हजुरबुवा–हजुरआमाको स्मृतिमा गर्नुभएको हो । यसैगरी डिल्ली–राधा साहित्यिक पुरस्कारको स्थापना सङ्गमका उपाध्यक्ष डिल्लीराम शर्माले गर्नुभएको हो भने नमुना शिक्षा तथा साहित्यिक पुरस्कारको स्थापना कुस्मास्थित नमुना आवासीय माविले गरेको हो ।

यसैगरी गोपी–नन्द साहित्यिक पुरस्कारको स्थापना सङ्गमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पले आफ्ना बुवाआमाको स्मृतिमा र संस्कृति बालप्रतिभा पुरस्कारको स्थापना सङ्गमका आजीवन सदस्य सुशिल थकाली अनुरागीले गर्नुभएको हो । यी सबै पुरस्कारहरुका लागि पर्वत साहित्य सङ्गममा तीन लाख राशीको अक्षयकोष स्थापना गरिएको छ ।

बर्ष २०७४ का लागि सार्वजनिक पुरस्कारहरु आगामी बैशाख महिनाको दोस्रो हप्ता कुस्मामा आयोजना गरिने भब्य समारोहमा स्रष्टा सर्जकहरुलाई समर्पण गरिने तयारी गरिएको पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले जानकारी दिनुभयो । यस अघि इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री र राजेन्द्र पहाडी रहेको स्रष्टा चयन समितिले सिफारिस गरेबमोजिम कार्यसमितिको बैठकले पुरस्कृत हुने व्यक्तित्वहरुको नामलाई अनुमोदन गरेको कोषाध्यक्ष मीना गुरुङले बताउनुभयो ।