महाकालीमा जंगली गाईको आतंक

2121
views

पप्पु गुरुङ्ग
दोधारा, २० चैत । महाकाली नगर क्षेत्रमा संरक्षित जनावर निलगाईको ‘आतंक’ बढेको छ । निलगाईको आतकले स्थानीय किसान हैरान भएका छन् । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिएको जंगली निलगाईले खेतवाली नष्ट गरेको छ ।

निलगाईको ‘आतंक’ बढेपछि महाकाली नगरपालिका–७ संसारीटोल लगायत टोल, बस्तीमा गहुँखेती नष्ट गरेको स्थानियहरुले बताएका छन् । बस्ती नजिक रहेका सामुदायिक बनमा बासस्थान बनाएका दर्जनौ निलगाई रातीको समयमा खेतमा पसेर खेतीबाली सखाप पारेका छन् ।

संसारीटोलका स्थानिय कृषकहरु निलगाई धपाउन रातीको समयमा जाग्रम बस्दै आएको स्थानिय खेम बहादुर थापाले बताए ।

महाकाली नगरपालिकाको वडा नं. ७ संसारी टोल, ढकनाघाट, वडा नं. ३ बडवाल टोल लगायत शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र भारतीय बनसंग जोडिएका बस्तीहरुमा यो समस्या देखिएको छ् । निलगाइले क्षति नगरोस् भनेर पहिले रातभरी खेतमा टर्चलाइट बालिन्थ्यो । तर, टर्च लाइटको उपाय पनि क्रमशः काम नलागेपछि किसान रातभर खेतमै बिताउन थालेको उनिहरुको भनाई रहेको छ ।

निलगाईको आतंक बढ्दा सरकारी निकाय भने मौन रहेको स्थानीयको आरोप छ । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज र भारतिय बनसंग जोडिएका बस्तीहरुमा बाँस र तारको घेरा हालेर खेती गरिरहेको छ भने राती जाग्राम बसेर किसानहरु खेती गरिएपनि मध्यरातमा हुलका हुल निलगाई तथा जंगली जनावरले बाली नष्ट पार्दै आएको छ ।