खोजी अस्तित्वको

822
views

महेन्द्र जिसी
पर्वत, २०, फागुन । प्रचार प्रसारको कारण ओझेलमा परेको पर्वतको उत्तरी भेग भुक देउरालीमा एकनासे ढुंगाले छाएका र एउटै रातोमाटो र सेतो माटो (कमेरो) ले पोतिएका घरहरु छन् । गाउँमा सडकभरि ढुंगाका छपनी बिछ्याएर बनाइएको रेलिङसहितका सिंढी र ठाउँ–ठाउँमा, फोहोर फाल्ने ड्रम । भरीदै गरेको गाउँको साक्षी सामुन्नेको अन्नपूर्ण साउथ हिमाल र केहीमाथि एकडेढ घण्टा उकालो चढेपछि धौलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलाको दृश्य मनमोहक बन्दै छ । सफा वातावरण, मिलेको बस्ती र गाउँवासीको अर्गानिक आतिथ्यताले गाउँ पर्यटकीय केन्द्रको रुपमा स्थापित बन्दै गएको छ । गाउँमाथिको भमरकोट मन्दिर सूर्योदयका लागि उपयुक्त छ । पछिल्लो समय नयाँपुल, भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग निर्माणको चरणमा छ ।

पर्वतको मोदी गाउँपालिका–१ भुकदेउराली गाउँमा झट्ट देखिने मनमोहक दृश्यहरु विकसित सहरका जस्ता सार्वजनिक शौचालय । धूलो नउड्ने ढलान । रातैभरि उज्यालो हुनेगरी सडकबत्ती, सरसफाईयुक्त घरआँगन र बाटोघाटो गाउँका विशेषता हुन् । गाउँको प्रवेशद्वारमा स्वागत लेखिएको गेट पनि राखिएको छ । गाँउ छाडेर शहर झरेपनि रित्तिएको बस्ती देख्दा कुनै दातृ संस्थाले ठूलै लगानी गरेको भान हुन्छ । वास्तविकता भने फरक छ । गाउँ छाडेर देश–विदेशमा रोजगारीका लागि पुगेका स्थानीयले आफ्नो जन्म ठाउँलाई ‘नमूना’ बनाउने अभियानको दृश्य हो । गाउँको प्रेमले सबै पात्र भुकमा उभिएका छन्, र आजको नेपाली समयलाई सम्बोधन गरिरहेका छन् । घटनाहरू पृथक् लागेपनि सबै सम्भाव्यता र आवश्यकताकै सूत्रमा छन् ।

“गाउँको प्रेमले सबै भुकमा उभिएका छन्, आजको नेपाली समयलाई सम्बोधन गरिरहेका छन् । स्वरुप फेरीएपनि सम्भाव्यता र आवश्यकताकै सूत्रमा छन् ।”


गाउँ सुनसान बन्दै गएपछि गाउँको माया जागेर विदेशीएकाले नमुना गाउँ बनाउने अभियानमा लागेपछि स्वरुप नै फेरीएको छ । गाउँलेहरु सबै किसिमका पूर्वाधार सम्पन्न बनाएर नमूना बनाई गाउँलाई पर्यटकीय केन्द्रसमेत बनाउने योजनामा तल्लिन छन् । बेलायती सेनामा भर्ती भएर उतै बस्दै आएका स्थानीय पञ्चकाजी गुरुङ र स्थानीय संयोजक चीजकाजी गुरुङकको नमुना गाउँ बनाउने अभियानमा गाउँलेहरुले साथ दिएपछि गाउँको स्वरुप फेरिन पुगेको हो । आँफुहरुको गाउँ बनाउने योजनामा गाउँका अन्य १९ जनाले साथ दिएपछि सार्थकता आएको पञ्चकाजी गुरुङले बताउनुभयो ।

गाउँको सरसफाई र रङ रोगनका साथै विभिन्न स्थानमा साईन बोर्ड राख्नका लागि ५७ लाख ८ हजार खर्च भईसकेको ट । विभिन्न देश विदेश घुम्ने क्रममा विदेशी गाउँमा स्थानीयले गरेको अभ्यासमा आँफु पनि जन्म गाउँ बनाउन लागेको गुरुङको भनाई छ । गाउँको विकास गरी नमूना बनाउन ड्रिमल्यान्ड ग्रुप तयार पारेर पहीलो चरणमा होमस्टे मार्फत गाउँको परिचय स्थापित गर्न लागेको गुरुङले बताउनु भयो । नमूना गाउँ अभियानका स्थानीय संयोजक चीजकाजी गुरुङका अनुसार गाउँमा १ हजार ३ सय ३३ मिटर लम्बाइको सिंढी बनाइएको छ । २ सय २० मिटर धूलेसडक ढलान गरिएको छ । ४९ सडकबत्ती र ४ सार्वजनिक शौचालय बनाएर ‘घरको रंगरोगन, सिंढी, शौचालय सबै एउटै देखिँदा मिलेर बसेको समाज भन्ने सन्देश दिने गुरुङले बताउनु भयो । सरकारी कामको तुलनामा निकै कम खर्चमा आँफुले गाउँको मुहार फेरेको दावी गुरुङले गर्नुभयो ।

भुकवासीको योजनाअनुसार पहिलो चरणमा गाउँमा होमस्टे सञ्चालन गरी पर्यटक भित्र्याउने र बसाइँसराइ रोकेर गाउँमै स्वरोजगारको व्यवस्था गर्ने योजना छ । सुरुमा १० घरले सञ्चालन गर्ने योजना छ । अहिले गाउँमा दुईवटा होटल सञ्चालनमा छन् । होमस्टे समितिका अध्यक्ष टेकबहादुर गुरुङले बसाइँसराइ तीव्र हुँदै आएको गाउँमा नमूना अभियानसँगै केही समययता बसाईसराई रोकिएको बताउनु भयो । योजना अनुसार गाउँलाई नमूना बनाएमा बाहिरिएकाहरू पनि फर्कने विश्वासमा गाउँबासी छन् । भुकदेउरालीमा १ सय ६७ घर रहेकोमा करिब तीन दर्जन घर गुरुङ समुदाय र अधिकांश दलित समुदायका छन् । स्थानीयहरु अहीले होमस्टेको तयारी जुटेका छन ।