ओली र प्रचण्डविरुद्ध माधव नेपालको नयाँ सूची

427
views

काठमाडौं २२ चैत । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल पक्षले वेग्लै सूची बनाएको हो ।

साबिक माओवादीसँगको भागबन्डामा एमालेले लिने भनिएका जिल्ला अध्यक्ष र सचिवहरूको सूची तयार गरेको नेपालनिकट एक नेताले बताए । स्रोतका अनुसार प्रचण्डसँगको सहमतिमा जिल्ला नेतृत्वको सूची अध्यक्ष ओलीले पनि बनाइसकेका छन् । त्यसलाई छिट्टै सर्कुलरमार्फत सार्वजनिक गर्ने ओलीको तयारी थाहा पाएपछि नेपाल आक्रोशित भएका थिए । त्यसपछि उनले निकट नेताहरूसँग परामर्श गरी वेग्लै नामावली तयार गरेको स्रोतले जनायो ।

गत ३० फागुनमा अध्यक्ष ओलीले प्रचण्डसहित नेपाल, झलनाथ खनाल र वामदेव गौतमसँग जिल्ला नेतृत्वको सूची टुंग्याउन परामर्श गरेका थिए । अध्यक्ष प्रचण्डले नेपाललाई पनि सँगै राखेर सूची अन्तिम टुंगो लगाउनुपर्ने प्रस्ताव गरेका थिए । ओलीले प्रचण्डको प्रस्ताव अस्वीकार गरेपछि त्यसयता ओली–नेपालबीच औपचारिक संवाद टुटेको छ ।

जवाफमा ओलीले नेपाललाई राख्ने हो भने छलफलमा नेता ईश्वर पोखरेललाई पनि समावेश गर्नुपर्ने बताएपछि जिल्ला नेतृत्वको सूचीमाथि सचिवालय बैठकमा छलफल गर्ने भन्दै प्रचण्ड, खनाल, नेपाल र गौतम बालुवाटारबाट बाहिरिएका थिए । नयाँ पत्रिकाबाट