राहत वितरणको गुनासोले एकद्वार प्रणाली लागू

637
views

वीरगञ्ज, २२, चैत । हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि वितरणमा एकद्वार प्रणली लागू भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको हो । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्नुपर्ने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि कुनै पनि व्यक्ति वा सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वय विना राहत वितरण गर्न नपाइने, हावाहुरी प्रभावित गाउँमा प्रवेश गर्ने बाटोमा राखिएको हेल्थ डेक्सको सिफारिस हुनुपर्ने जस्ता व्यवस्था गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको तथ्याङ्कअनुसार हावाहुरी प्रभावित क्षेत्रमा ९४० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ९५५ घर आंशिक रुपमा क्षति भएको र मृतकहरुको संख्या २७ पुगेको छ ।