पाँचसय वढी परिवारलाई राहत सामग्री प्रदान

925
views

बारा । बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई नेपाल रेडक्रसले तत्कालको सहयोगस्वरुप गैरखाद्य सहयोग सामग्री सेट शुक्रबार साँझसम्म उपलव्ध गराएको छ ।

यसबाट २६०० बढी मानिसहरु प्रत्यक्ष लाभान्वित भएका छन् । वितरित हरेक सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् ।

यसका अतिरिक्त ६१२ परिवारलाई तारपोलिन तथा डोरी, १०० वटा वस्ने म्याट्रेस र ४० वटा कम्मल पनि वितरण गरिएको छ । तयारी खाना भने ३६४ परिवारलाई वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई ध्यानमा दिई १० हजार थान साबुन, पानी सुद्धिकरणको लागि एकलाख वटा ट्यावलेट, पानी राख्ने बाल्टी, सरसफाईका अन्य सामग्री ५०० सेट र २० वटा आपत्कालीन चर्पी पनि प्रभावित क्षेत्रमा पठाइएको छ । ५०० वटा झूल वारामा पठाइएकोमा १०० वटा परिवारलाई आज वितरण गरिएको छ ।

प्रारम्भिक सर्वेक्षण अनुसार हावाहुरीले २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । बारामा १,८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् । विस्तृत सर्बेक्षणको लागि बारा र पर्सा दुवै जिल्लामा तालिम सम्पन्न भैसकेको र पर्सामा सर्वेक्षण भोली सम्म सकिनेछ । बारामा आइतबार बेलुकीसम्म विस्तृत सर्बेक्षण सकिने अनुमान छ ।

विभिन्न सहयोगको लागि रेडक्रसका ९९ स्वयंसेवक हरेकदिन खटिएका छन् । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र लेखाजोखा तथा समन्वयको लागि २ वटा टोली खटिएको छ । खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद् प्रतिकार्य टोली आजैदेखि कार्यसुरु गरेको छ । केन्द्रीय कार्यालयमा आपत्कालीन केन्द्रले कार्यगरिरहेको र समय सिफ्ट मिलाई हरेक दिन २१ जना कर्मचारीहरु त्यसमा खटिएका छन् ।