विज्ञ भन्छन् ‘नेपालमा पहिलोपटक ‘टोर्नाडो’ आयो

1169
views

काठमाडौँ, २३, चैत । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरी ‘टोर्नाडो’ भएको विज्ञहरुले पुष्टि गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो । श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको पूर्व महानिर्देशक पनि हुन् ।

‘‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’’ बारा, पर्सामा यहि भएको छ ।

टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।

भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको मदनलाल श्रेठले बताए ।

यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्विरमा प्रस्ट देखिन्छ ।

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटोका बनाएर अघि बढेको तस्विरमा प्रस्ट देखिएको छ ।

टोर्नाडोको यात्रामा जे भेट्यो, सबै क्षतिग्रस्त बनाएको पनि देखिएको थियो । विज्ञ श्रेष्ठले भने, “अझ स्पष्ट देखिन अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्छ, त्यसका लागि प्रक्रिया सुरु गरेर पत्र पठाएका छौँ ।” सरकारले अनुरोध गरेमा त्यो तस्बिर निःशुल्क पनि प्राप्त गन सकिन्छ । एक मिटरको दूरीबाट खिचिएका ती तस्बिरले कसरी टोर्नाडोले क्षति ग¥यो भन्ने पूर्ण निक्र्योल हुनेछ ।

विभागका महानिर्देशक सरजुकुमार वैद्य, मौसम पूर्वानुमान महाशाखाका निमित्त प्रमुख सुमनकुमार रेग्मी, मौसमविद् जगदिश्वर कर्माचार्यसहित टोर्नाडोका बारेमा छलफल गरेका छन् । लगत्तै विभागले थप अध्ययनका लागि डा. अर्चना श्रेष्ठको नेतृत्वमा नामीहाङ किराँत, सुजन सुवेदी सहितको चार सदस्यीय एक टोली बारा र पर्सा पठाएको छ । औपचारिक पुष्टिसहित सार्वजनिक गर्न भने अझै केही दिन लाग्ने विभागले जनाएको छ ।