लिवियामा पुनः नयाँ संकट, रक्तपात रोक्न अपील

583
views

काठमाडौं । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ ।

सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो । योसँगै विद्रोही सेना त्रिपोलीबाट करिब ५० किलोमिटर नजिक पुगेको छ । जहाँ उनीहरुको अन्य सशस्त्र समूहहरुसँग संघर्ष भइरहेको बताइएको छ ।

राजधानी त्रिपोलीबाट लिवियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ ।यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हफ्तारसँग गरेको वार्ता पनि निष्कर्षविहीन भएको छ ।

उनले राष्ट्र संघ सुरक्षा परिषद्मा पनि हफ्तारलाई रोक्न अपील गरेका छन् । महासचिव गुटेरेस त्रिपोलीमै भएका बेला हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएका हुन् ।

यसपछि पनि गुटेरेसले हिंसा रोक्नका लागि निकै लामो छलफल गरेको बताइएको छ । त्यसमा पनि कुनै ठोस परिणाम आउन सकेको छैन ।

बैठकपछि महासचिव गुटेरेसले रक्तपात रोक्न कुनै न कुनै उपाय अबलम्बन गर्नुपर्ने बताए । उनले राष्ट्र संघले राजनीतिक समस्या समाधान गरी लिवियाली जनतालाई एक बनाउनुपर्ने बताए ।

हफ्तारको लिवियन नेसनल आर्मी त्रिपोलीतर्फ अघि बढीरहेका बेला पूर्वी शहर मिसरातामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थक सशस्त्र समूहले त्रिपोलीको रक्षाका लागि भन्दै आफूहरु तयारी अवस्थामा रहेको चेतावनी दिएको छ

त्रिपोलीमा हुन लागेको संघर्ष रोक्न राष्ट्र संघका महासचिव गुटेरेस, अमेरिका र युरोपेली मुलुकहरुले अपील गरेका छन् । त्यस्तै, रुस, फ्रान्स र बेलायतलेसमेत शान्तिका लागि अपील गरेका छन् ।

यसअघि अमेरिका, बेलायत, फ्रान्स र युएइले पनि संयुक्त वक्तव्य जारी गर्दै शान्ति कायम गर्न अपील गरेका थिए । (एजेन्सी)