आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पाँच खेल आजदेखि

486
views

काठमाडौं । आठौं बृहत राष्ट्रिय खेलकुदका विभिन्न पाँच खेल आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी वैशाख ५ गते नेपालगन्जमा हुने छ । प्रदेश ५ को नेपालगञ्जमा गर्मी बढ्दै गएकाले आउटडोर भेन्युमा खेल्नुपर्ने विभिन्न खेल एक साता अघि नै थालिएको हो ।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका स्क्वास खेलहरु आज ललितपुरको सातदोवाटोमा सुरु हुँदैछ । त्यसैगरी टेबल टेनिस, लनटेनिस, कुस्ती र हक्कीका खेलहरु पनि आजैदेखि हुनेछन् ।

टेबल टेनिस खेल दाङको घोराही कभर्डहलमा हुनेछ भने कुस्ती कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा, पुरुष हक्की नेपालगञ्जको मंगलप्रसाद उच्च माविमा तथा लनटेनिस बुटवलमा हुनेछ । महिला हक्कीका खेलहरु भने बाँकेको खजुरामा चैत ३० गतेदेखि हुनेछन् । वैशाख ११ गतेसम्म औपचारिक रुपले चल्ने प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको छ ।

प्रतियोगितामा ३ सय ७२ स्वर्ण पदक, त्यती नै संख्यामा रजत पदक तथा ५ सय ६३ कास्य पदकका लागि भिडन्त हुनेछ । खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कास्की, ललितपुर र काठमाडौं गरी ८ जिल्लामा हुनेछन् ।