आगोको ज्वालासहित आएको थियो ‘टोर्नाडो’

696
views

काठमाडौँ, ३०, चैत । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सामा आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको विज्ञहरूले पुष्टि गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी दिए । चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उनले बताए । उनका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो ।

पश्चिमी वायु पोखरा, चितवनहुँदै बारा, पर्सामा पुग्दा टोर्नाडोको रूपले उग्र लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो । टोर्नाडोले चितवन निकुञ्जबाट बाटो बनाउन खोजेको आधार भेटिएको छ ।

एकै घरका चारजनासहित फेटामा मात्र १८ जनाले ज्यान गुमाएका थिए । अन्यत्रसहित गरेर २९ जनाको ज्यान टोर्नाडोले लिएको थियो । सामाजिक सञ्जाल, भू–उपग्रह सञ्चारको तुलनात्मक अध्ययनले समेत टोर्नाडोको बाटोहरू पहिल्याएको समेत उल्लेख गरिएको छ ।

गुगल अर्थ इन्जिन र खुला सफ्टवेयरबाट विश्लेषण गर्दा चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा समेत टोर्नाडोको बाटो बनाएको फेला परेको थियो । प्रारम्भिक अनुमान अनुसार यसले ९० किलोमिटर लामो बाटो बनाएको छ ।

शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा बैज्ञानिकसँगको साक्षात्कार भेलामा बरिष्ठ विज्ञ सुरेशराज चालिसे, मदनलाल श्रेष्ठ, महेन्द्र गुरुङ लगायत विज्ञले यसबाट पाठ सिकेर भविष्यमा जनधनको क्षति जोगाउने उपाय खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।