मध्यपुर थिमिमा सिन्दुर जात्रा

1227
views

काठमाडौं । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै यो जात्रा मनाइएको हो ।

यो जात्रा थिमिमा मात्र मनाइने चलन छ । जात्रामा एक–अर्कामा सिन्दुर दलेर रमाईलो गरिन्छ । धिमेलगायतका स्थानीय बाजामा नाच्न, हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ ।

यो जात्रा सोमबार बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७ र टिगनीमा एक स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक–अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।