सरकारका गतिविधि निरासाजनक-प्रवक्ता शर्मा

634
views

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधि निरासाजनक रहेको निष्कर्ष निकालेको छ । वर्ष २०७५ मा सरकारका गतिविधिको समीक्षा गर्न पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो निष्कर्ष निकालेको हो । प्रतिपक्षी दल काँग्रेसले सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको छ । उसले संघीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएको छ ।

काँग्रेसले प्रदेश र स्थानीय सरकार सञ्चलनको ऐन बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । प्रदेशसँग प्रहरी छैनन् । निजामती कर्मचारी छैनन्’, आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्रीले लोकतान्त्रिक संस्थाहरूलाई केन्द्रीकरण गरेर क्षतविक्षत बनाउनुभयो । सरकार संघीयताविरोधी, जनताविरोधी र विदेश नीति पनि कमजोर देखियो ।’

सरकार शान्ति सुरक्षाको क्षेत्रमा पनि असफल देखिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाए । सरकारले भ्रष्टाचार अन्त्य गर्छु भने पनि जताततै भ्रष्टाचार देखिएको पनि उनको आरोप थियो ।

कमिसनको खेलका कारण मेलम्ची आयोजना पूरा हुन नसकेको भन्दै प्रवक्ता शर्माले भने ‘कमिसनको खेलका कारण ९० प्रतिशत काम पूरा भएको मेलम्चीको जिम्मा पाएको निर्माण कम्पनी भाग्यो ।’

प्रवक्त शर्माले सरकारी जग्गा निजीकरण गर्न लागेका माफियामाथि छानबिन गर्नुपर्ने भन्दै ‘बालुवाटरको जग्गा हिनामिनामा नेकपाकै उच्चपदाधिकारीको संलग्नता प्रधानमन्त्रीको जानकारीमा छ कि छैन ? भन्ने प्रश्न गरे ।

शर्माले प्रधानमन्त्री ओलीले आइतबार देशवासीको नाममा सम्बोधन गर्दै बालबालिकाई ढुंगामुढा गर्न सिकाएको आरोप समेत लगाए ।

यस्तै, पार्टी उपसभापति निधिले सरकारले न्याय क्षेत्रलाई पनि छायामा पार्न खोजेको आरोप लगाए । उनले संवैधानिक परिषद्को बैठक प्रतिपक्षी दलबिनै गरेर सरकारले अलोकतान्त्रिक काम गरेको आरोप लगाए ।