नेपालसँग १५० रनले ओमान पराजित

609
views

काठमाडौँ — उन्नाइस वर्षमुनिको आईसीसी यू्–१९ एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालसँग ओमान १५० रनले पराजित भएको छ ।

मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा मंगलबार भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रन बनायो ।

जवाफी ब्याटिङ गर्न आएको ओमानले ४४.१ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्रै बनाउन सफल भयो । नेपालका लागि पवन सर्राफले ३ विकेट तथा प्रतिस जि.सी., सूर्य तामाङले २/२ विकेट लिए । यस्तै कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले १/१ विकेट लिएका थिए ।

ओमानका लागि पुच्छारका दुई ब्याट्स्म्यानले मात्रै दोहोरो अंक जोड्न सफल भएका थिए । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे । बलिङतर्फ ओमानका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले २÷२ विकेट झारे ।