अन्तरिक्षमा पहिलोपटक नेपाली स्याटेलाईट पुग्दै

1282
views

काठमाडौं । नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी भएको छ । नेपाली युवा वैज्ञानिकको महिनौँको प्रयासपछि बिहीबार बिहान त्यसले एउटा नतिजा पाउने भएको छ ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ । नेपालको राष्ट्रिय झन्डा अङ्कित सानो आकारको स्याटेलाइट पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण हुने भएको हो

नेपाली समय अनुसार बिहीबार बिहान करिब २ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट उक्त स्याटेलाइट प्रक्षेपण हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।

नेपाली स्याटेलाइट १ नाम दिइएको उक्त स्याटेलाइटसँगै श्रीलङ्का र जापानका पनि सोही आकारका स्याटेलाइट अन्तरिक्षमा पुग्नेछन् ।

आफ्नै स्याटेलाइट नहुने मुलुकका लागि जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा सुरु गरेको ‘बर्ड्स’ परियोजनाअन्तर्गत नेपालले यो स्याटेलाइट निर्माण गरेको हो । जापानको सोही इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले उक्त स्याटेलाइट तयार गरेका हुन् ।