चुनावका लागि गएका मजदुर फर्किएलगत्तै मुग्लिन सडक आजदेखि पुनः ६ घन्टा बन्द

239
views

चितवन, ४, जेष्ठ । चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितता दिएको हो ।
आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम हुने आयोजनाका इन्जिनियर शिव खनालले बताए । सडकको ४७ प्रतिशत मात्रै काम पूरा भएको खनालले जानकारी दिए । उक्त सडकखण्डको ३४ किमी क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् । सडककमा काम गर्ने मजदुरलाई पनि चुनाव लागेको थियो । चुनावका लागि गएका मजदुर फर्किएको आयोजनाले जनाएको छ । उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउनुहुन्छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ । कतिपय स्थानमा कालोपत्र गर्ने काम समेत थालिसकिएको आयोजनाको भनाइ छ ।