युवतीहरुको छाला किन चाँडै चाउरी पर्छ ?

937
views

अक्सर युवाहरु भन्दा युवतीहरुको छाला चाउरी परेको हामीले देखेका छौं । उमेरको परिवर्तनसँगै मानिसहरुको छाला चाउरी पर्नु स्वभाविक नै हो । तथापी कतिपय अवस्थामा महिलाहरुको छाला चाँडै चाउरी परीरहेको हुन्छ । अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं । छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं । कतिले त शल्यक्रिया नै गर्छन् ।

यी सबैले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या निर्मूल पार्न सक्दैनन् । किनभने यसको मुख्य कारण हाम्रो जीवनशैली र भोजनसँग गाँसिएको हुन्छ ।खासमा जवान रहन खासै खर्च वा शल्यक्रिया गर्नु पर्दैन, हामीले आफ्नो जीवनयापनको शैली र भोजनमा ध्यान दिए पुग्छ । हाम्रो शरीर र मस्तिष्कमा हामीले खाने भोजनकै सबैभन्दा बढी प्रभाव पर्छ । जसको तुलनामा कुनै लोसन वा क्रिमको प्रभाव नगन्य हुन्छ ।

छाला किन चाउरी पर्छ ? छाला चाउरी पर्नुका मुख्य दुई कारण छन् । पहिलो हो घामले गर्ने क्षति र दोस्रो उमेरअनुसार आउने परिवर्तन । छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्छ । तर, निरन्तर घाम पर्नाले कोलाजेनको मात्रा घट्छ । यसको मात्रा घटेसँगै छाला चाउरी पर्न थाल्छ । यसका साथै उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ ।

सुरुमा हाम्रो आँखा, गाला, निधार, आँखीभुइँ जस्ता भागको छाला चाउरी पर्न थाल्छ । किनभने यी सबै ठाउँ खुला हुने भएकाले घाम नियमित रुपमा परिरहेको हुन्छ । त्यसपछि प्रदुषण, धूमपान, बढी वजन, पानीको कमी, भोजन, तनाव र जिउने शैलीको प्रभावले छाला छिटै चाउरी पर्न थाल्छ ।